
काठमाडौं । काठमाडौं महानगरपालिका–१४ कुलेश्वर पुलनजिक प्रहरीले गोली चलाएर लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुई नेपाली र एक भारतीय नागरिक रहेका छन्।
लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले आइतबार विशेष सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा पक्राउबाट उम्किन प्रयास गरेपछि इन्स्पेक्टर राकेश यादव नेतृत्वको टोलीले दुई राउण्ड गोली चलाएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार कारबाहीका क्रममा भारतीय नागरिकको देब्रे खुट्टामा गोली लागेको छ। घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ।
पक्राउ परेका व्यक्तिहरूबाट ठूलो परिमाणमा औषधिजन्य लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ। बरामद लागुऔषधको परिमाण र प्रकृतिबारे भने विस्तृत विवरण सार्वजनिक गरिएको छैन।
घटनाबारे थप अनुसन्धान भइरहेको र पक्राउ परेकामाथि लागुऔषध कारोबारसम्बन्धी कसुरमा कानुनी प्रक्रिया अघि बढाइने लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।





