काठमाडौं । लागुऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय भैरहवाले १ हजार ९३५ एम्पुल लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

ब्यूरोका अनुसार असार २९ गते नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को पालिनन्दन गाउँपालिका–३, सुगौली क्षेत्रमा भारतीय नम्बर प्लेटको मोटरसाइकललाई रोकी चेकजाँच गर्दा बुप्रेनोर्फिन, डाइजेपाम र फेनारगन गरी कुल १ हजार ९३५ एम्पुल लागुऔषध बरामद गरिएको हो।

पक्राउ पर्नेमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सरावल गाउँपालिका–७ का २४ वर्षीय महम्मद अफ्जल अन्सारी र पालिनन्दन गाउँपालिका–२ का २५ वर्षीय सोहित कुमार कमकर रहेका छन्।

प्रहरीका अनुसार पक्राउ परेका अन्सारी यसअघि पनि विभिन्न आपराधिक घटनामा संलग्न रहेका थिए। उनी २०८० चैत २३ गते डाँका चोरी मुद्दा तथा २०८३ जेठ १ गते लागुऔषध मुद्दामा पक्राउ परेर छुटेका व्यक्ति हुन्।

पक्राउ परेका दुवै जनालाई बरामद लागुऔषधसहित आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय महेशपुर, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा बुझाइएको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।

ब्यूरोका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दुर्गा राज रेग्मीका अनुसार लागुऔषध ओसारपसार तथा अवैध कारोबार नियन्त्रणका लागि देशभर निगरानी तथा विशेष अपरेसनलाई निरन्तरता दिइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय