
धनगढी । कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियास्थित ममता सेकुवा सेन्टरबाट प्रहरीले २ किलोभन्दा बढी चरेससहित दुई जनालाई पक्राउ गरेको छ।
आइतबार दिउँसो प्राप्त गोप्य सूचनाका आधारमा लागू औषध नियन्त्रण ब्युरो महेन्द्रनगर र इलाका प्रहरी कार्यालय मालाखेतीको संयुक्त प्रहरी टोलीले होटलमा छापा मारेको थियो।

प्रहरीले होटलको पछाडिपट्टि जस्तापाताले छाएको ट्रस (कोठा) भित्र लुकाइराखिएको अवस्थामा प्लास्टिकसहित २ किलो २०५ ग्राम तथा प्लास्टिक हटाएपछि २ किलो ९५ ग्राम शुद्ध तौल भएको चरेसजस्तो देखिने कालो पदार्थ बरामद गरेको जनाएको छ।
घटनामा डडेल्धुराको भागेश्वर गाउँपालिका–३ स्थायी घर भई हाल गोदावरी–१ अत्तरिया बस्दै आएका ४५ वर्षीय होटल सञ्चालक शंकरकुमार शाही र कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ स्थायी घर भई हाल धनगढी उपमहानगरपालिका–१ बस्दै आएका ५२ वर्षीय मिनराज भट्ट पक्राउ परेका छन्।
बरामद गरिएको लागूऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय मालाखेतीमा राखिएको छ। उनीहरूमाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



