काठमाडौं । प्रतिबन्धित लागूऔषध खैरो हिरोइनसहित एक जनालाई प्रहरीले सिन्धुलीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोलुखुम्बु दुधकौशी नगरपालिका–२ बस्ने २६ वर्षीय विक्रम श्रेष्ठ रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबास र इलाका प्रहरी कार्यालय भिमानबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले सिन्धुलीको कमलामाई नगरपालिका–९ स्थित भिमान चेकपोष्टमा चेकजाँचका क्रममा उनलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार मिति २०८३ वैशाख ८ गते दिउँसो करिब १ः४५ बजे झापाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.५ख ५५०० नम्बरको हायसलाई रोकि चेकजाँच गरिएको थियो । उक्त हायस ओखलढुंगा लिखु गाउँपालिका–५ बस्ने ४३ वर्षीय वीरबहादुर तामाङले चलाएका थिए ।

चेकजाँचका क्रममा हायसको ९ नम्बर सिटमा सवार विक्रम श्रेष्ठको साथमा रहेको पछाडि भिर्ने रातो झोलाभित्र कालो प्लास्टिकमा राखिएको काक्रोभित्र लुकाइछिपाइ गरिएको अवस्थामा दुई वटा पोका फेला परेको प्रहरीले जनाएको छ । उक्त पोकाभित्र खैरो हिरोइन जस्तो देखिने गिलो पदार्थ बरामद गरिएको थियो ।

बरामद पदार्थलाई मान्यता प्राप्त तराजुमा तौल गर्दा प्लास्टिकसहित १०९ दशमलव ३२० ग्राम तथा प्लास्टिक बाहेक शुद्ध तौल १०० दशमलव ४२० ग्राम रहेको प्रहरीले जनाएको छ ।

प्रहरी नायब निरीक्षक सरोज कुमार अधिकारी र प्रहरी निरीक्षक राजु केसी खत्रीको संयुक्त कमाण्डमा खटिएको टोलीले श्रेष्ठलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि इलाका प्रहरी कार्यालय भिमान सिन्धुलीमा बुझाएको जनाएको छ ।

प्रहरी स्रोतका अनुसार पक्राउ परेका श्रेष्ठविरुद्ध यसअघि पनि जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता भएको र उनी फरार रहेका व्यक्ति हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय