
विराटनगर, जेठ ०४ गते । झापा, सुनसरी र मोरङ जिल्लाका विभिन्न स्थानबाट लागूऔषधसहित ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूलाई जेठ ०३ गते छुट्टाछुट्टै स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
झापाको इलाका प्रहरी कार्यालय दमकले दमक नगरपालिका–२ का २३ वर्षीय विशेष लिम्बुलाई ६२० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । त्यसैगरी दमक–९ का १९ वर्षीय सनम लिम्बुलाई प्रतिबन्धित लागूऔषध ७५ क्याप्सुल र ७५ ट्याब्लेटसहित नियन्त्रणमा लिइएको हो ।

यस्तै, सुनसरी जिल्लाको इटहरी–२ हलगडाका २३ वर्षीय कृष्ण राईलाई ९२ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको छ । धरान–१५ का २५ वर्षीय सनम राईलाई ट्रामाडोल १४० क्याप्सुल र डिकोलिक १४० ट्याब्लेटसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
यसैगरी रामधुनी नगरपालिका–९ का २२ वर्षीय रोहन चौधरी र रामधुनी–७ का २३ वर्षीय मनिस चौधरीलाई ६ ग्राम ७४ मिलिग्राम ब्राउन सुगरसहित इनरुवा–४ स्थित बसपार्कबाट पक्राउ गरिएको छ ।
त्यस्तै मोरङको इलाका प्रहरी कार्यालय लेटाङले बेलबारी नगरपालिका–११ का २३ वर्षीय प्रेमबहादुर तामाङ र बेलबारी–४ का २० वर्षीय संजोग विशंखेलाई ६ ग्राम २८ मिलिग्राम ब्राउन सुगरसहित लेटाङ–३ बाट नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका सबै व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




