
काठमाडौं । लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरले काठमाडौंका विभिन्न स्थानमा संचालन गरेको विशेष अपरेशनमा नियन्त्रित लागुऔषधसहित ४ जनालाई पक्राउ गरेको छ।
ब्यूरोका अनुसार गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले २०८३ वैशाख १७ गते काठमाडौं महानगर क्षेत्र तथा बुढानिलकण्ठ नगरपालिका–५ लगायतका स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका–५ का २३ वर्षीय कबिर देउला, ४२ वर्षीया सबिना पोडे, २६ वर्षीय सन्सार सिटौला तथा ललितपुरको गोदावरी नगरपालिका–११ का २६ वर्षीय सुबास साही रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट ठूलो परिमाणमा नियन्त्रित लागुऔषध ट्रामाडोल १६ हजार ७५० क्याप्सुल बरामद गरेको जनाएको छ। त्यसका साथै एक थान पेस्तोल, तीन थान म्याग्जिन, चार राउण्ड गोली र एसएलआरको दुई राउण्ड गोलीसमेत बरामद गरिएको छ।
लागुऔषध कारोबारसँगै हतियारसमेत फेला परेकाले संगठित आपराधिक गतिविधिको आशंका गरिएको प्रहरीको भनाइ छ। पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दुर्गा राज रेग्मीले जानकारी दिएका छन्।
प्रहरीले पछिल्लो समय काठमाडौं उपत्यकामा बढ्दो लागुऔषध कारोबार नियन्त्रणका लागि निगरानी तथा कारबाही तीव्र पारिएको जनाएको छ।



