काभ्रे। भदौ २४ गते भएको जेन–जी प्रदर्शनको क्रममा इलाका प्रहरी कार्यालय बनेपामा भएको तोडफोड, आगजनी र लुटपाटमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मण्डनदेउपुर नगरपालिका–७ घर भई हाल बनेपा नगरपालिका–९ लाईकुमा कोठाभाडामा बस्दै आएका ३४ वर्षीय सन्तोष श्रेष्ठ रहेका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी एवं सूचना अधिकारी मिन घलेका अनुसार, श्रेष्ठलाई इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी रामेश्वर त्वाँतीको टोलीले उनकै कोठाबाट पक्राउ गरेको हो।

पक्राउ परेका श्रेष्ठको कब्जामा एक थान कटुवा पेस्तोल र ३६ राउन्ड गोली फेला परेको छ। उनलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय काभ्रेमा राखिएको छ र थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाहले जानकारी दिए।

भदौ २४ गतेको प्रदर्शनका क्रममा बनेपा इलाका प्रहरी कार्यालयमा तोडफोड, आगजनी र लुटपाट भएको थियो। एसपी शाहले जनता र दोषीलाई त्यस्ता सामान प्रहरीलाई बुझाइदिन र थप क्षति नपुर्‍याउन आग्रह गरेका छन्।

यसैबीच, जिल्ला प्रहरी कार्यालय धुलिखेलले भदौ २३ देखि २५ गतेसम्म भएको प्रदर्शनका क्रममा चोरी भएका नेपाल प्रहरी लगायत अन्य सुरक्षा निकायका हातहतियार, गोलीगठ्ठा, सञ्चार साधन, असभाब, प्रहरी पोशाक र अन्य भौतिक साधन यथाशीघ्र फिर्ता गर्न अनुरोध गरेको छ। फिर्ता नगरे प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी पनि जारी गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय