
काठमाडौं । काठमाडौं उपत्यकामा महिलालाई लक्षित गर्दै श्रृंखलाबद्ध रूपमा सिक्री लुटपाट गर्दै आएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरी वृत्त स्वयम्भुको टोलीले सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–४ का ३४ वर्षीय कर्मा तामाङलाई सोमबार बौद्ध कुमारीगालबाट नियन्त्रणमा लिएको हो।

चौरिको मोटरसाइकलमै आएर सिक्री लुट्ने शैली—
प्रहरी परिसर काठमाण्डौंका एसपी अपिलराज बोहराका अनुसार मोटरसाइकलमा आएका दुई युवाले महिलाको घाँटीबाटै सुनको सिक्री लुट्ने गरेका थिए । गत असार १५ गते नागार्जुन–२ मा ५८ वर्षीया महिलाको एक तोलाको सिक्री लुटिएको थियो। त्यसपछि साउन १२ गते ठूलोभर्याङस्थित स्वागतमार्गमा ५५ वर्षीया महिलाको दुई तोलाको सिक्री लुटियो।
दुवै घटनामा २२० सीसीको पल्सर मोटरसाइकल प्रयोग भएको र फरक–फरक नम्बर प्लेट राखी प्रहरीलाई झुक्याउने प्रयास गरिएको अनुसन्धानमा खुलेको छ।
चोरीको मोटरसाइकलसहित पक्राउ —
तामाङको साथबाट बरामद मोटरसाइकलसमेत चोरीकै भएको प्रहरीले जनाएको छ। उनले सिक्री लुटपाटमा संलग्न भएको स्वीकार गरिसकेका छन्।
पुराना मुद्दा पनि खुले—
अनुसन्धानका क्रममा तामाङमाथि यसअघि नै सिक्री लुटपाटसम्बन्धी ६ वटा मुद्दा दर्ता भएको तथ्य खुलेको छ। प्रहरी वृत्त बौद्ध, सातदोबाटो र ललितपुरमा समेत उनका विरुद्ध मुद्दा दर्ता भएको छ।
साथै , लुटपाटका घटनामा मोटरसाइकल चलाउने अर्का युवक भने अझै फरार रहेका छन्। उनको खोजी तीव्र पारिएको स्वयम्भु प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार तामाङले लुटपाटका क्रममा आफ्नो मोटरसाइकलमा फरक–फरक नम्बर प्लेट प्रयोग गर्ने गरेका थिए। उनको साथबाट वाग्मती प्रदेश०२–०२९प८९६८ नम्बरको पल्सर मोटरसाइकल र वाग्मती प्रदेश०२–०३१प७०९८ नम्बरको प्लेट बरामद गरिएको छ।
हाल तामाङमाथि चोरी तथा डाँकासम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। काठमाडौं जिल्ला अदालतले उनलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले माग गरेको पाँच दिनको म्याद दिएको छ।



