जाजरकोट — जाजरकोटस्थित डिभिजन वन कार्यालयका प्रमुख अमरप्रसाद साहमाथि आइतबार कार्यकक्षमै कुटपिट भएको छ। कार्यालय समयमै अपरिचित समूह कार्यालयभित्र पसेर प्रमुख साहमाथि हातपात गरेको हो।

प्रमुख साहका अनुसार उनी फाइल अध्ययन गरिरहेकै बेला ३–४ जना आक्रोशित व्यक्तिहरू कार्यकक्षभित्र प्रवेश गरी ‘भ्रष्टाचारी’ भन्दै दुर्व्यवहार गर्दै हातपात गरेका थिए। “म सामान्य फाइल हेर्दै थिएँ, एक्कासि उनीहरू पसेर कराउन थाले, अनि मलाई थिचथाच पार्दै कुटे,” साहले बताए।

घटनामा साहलाई सामान्य चोटपटक लागेको छ। केही दिनअघि कार्यालयको तालिम हलमा मदिरा सेवन गरेको भिडियो सार्वजनिक भएपछि साह तीव्र आलोचनाको केन्द्रमा थिए। साहले उक्त भिडियो नियोजित रूपमा आफ्नो चरित्र हत्या गर्न सार्वजनिक गरिएको दाबी गर्दै आएका छन्।

“भिडियो कार्यालय समयभन्दा बाहिरको हो। मैले कुनै गल्ती गरेको छैन,” उनले भने, “तर त्यसकै आडमा यस्तो कुटपिट हुनु दुर्भाग्यपूर्ण र नियोजित देखिन्छ।”

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार आक्रमणकारीको पहिचान अझै नखुलेको भए पनि अनुसन्धान सुरु भइसकेको छ। “हामीले कार्यालय परिसरका सीसीटीभी फुटेज संकलन गरेका छौं,” जिल्ला प्रहरी प्रमुख वसन्त कुमार शर्माले भने, “त्यसको आधारमा दोषी पहिचान गरी आवश्यक कानुनी कारबाही अघि बढाइन्छ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय