
सर्लाही — सर्लाही प्रहरीले भारतको सितामढीबाट हराएकी एक नेपाली बालिकालाई सकुशल उद्धार गरेर नेपाल फर्काएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी सई सुवास यादवको नेतृत्वको सक्रियतामान भारतीय प्रहरीसँगको समन्वयमा बालिकाको सफल उद्धार गरेको हो।
सर्लाहीको चक्रहरिया गाउँपालिका–खोरियाबाट जेठ २२ गते हराएकी बालिका भारत पुगेको सूचना आएपछि प्रहरीले खोजी कार्य तीव्र बनाएको थियो। प्रारम्भिक अनुसन्धानबाट उक्त बालिका मदनपुर निवासी विवेक गिरीसँगको सम्बन्धका कारण भारत गएको हुन सक्ने जानकारी प्राप्त भएको थियो।

बालिकाकी आमा रिनादेवीले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएपछि खोजी सुरु गरिएको थियो। सूचना प्रणालीमार्फत अनुसन्धान अघि बढाउँदै सई यादवले भारतको सितामढीमा बालिका रहेको थाहा पाएपछि भारतीय प्रहरीसँगको अनुरोधसहित समन्वय गरिएको थियो।
तीव्र सुराकी र दुवै देशको प्रहरीबीचको सहकार्यका कारण बालिकालाई छोटो समयमै फेला पार्न सफल भएको सर्लाहीका डिएसपी सरोज राईले जानकारी दिनुभयो।
“समन्वयकारी रूपमा काम गर्दा यस्तो जटिल समस्या समाधान गर्न सजिलो हुन्छ,” डिएसपी राईले भने।
स्थानिय वडा नं. ९ का अध्यक्ष विजय कुमार यादवले समेत सई सुवास यादव नेतृत्वको टोलीको सक्रियता प्रशंसनीय रहेको बताउँदै यस्तो काम अन्य घटनाका लागि पनि उदाहरण बन्ने विश्वास व्यक्त गरे।
कामको प्रलोभनमा भारत लैजान लागिएको दुई नेपाली बालकको उद्धार, हैदरावाद निवासी व्यक्ति पक्राउ
भारतको हैदरावाद निवासी एक व्यक्तिले कामको प्रलोभन देखाउँदै दुई नेपाली बालकलाई अवैध रूपमा भारत लैजान खोजेको खुलासा भएको छ। साउन २० गते भारतको रक्सौलस्थित हरैया थाना प्रहरीले सीमाबाटै उनीहरूलाई नियन्त्रणमा लिई उद्धार गरेको छ।
उद्धार गरिएका बालकहरू सर्लाहीको लालबन्दी नगरपालिका स्थायी घर भई हाल वाग्मती नगरपालिका माइतीघरमा बस्दै आएकी नगिना कुमारी दासका १७ वर्षीय रवि दास र १५ वर्षीय किसन दास हुन्। ती हैदरावाद निवासी व्यक्तिले उनीहरूलाई बिना पारिवारिक जानकारी भारततर्फ लैजाँदै गरेका थिए।
बालककी आमाका अनुसार, “काम दिलाइदिन्छु” भन्ने झुठो प्रलोभनमा पारेर दुबै छोरालाई भारत लैजाने कोसिस गरिएको थियो। समयमै सूचनाको आधारमा भारतको रक्सौलस्थित हरैया थाना प्रहरीले ती बालकहरूलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको छ।
घटनामा नेपाल प्रहरीको पनि समन्वय रहन गएको थियो। विशेषगरी सई सुवाश यादवको सक्रिय पहल र समन्वयबाट बालकहरूको सकुशल उद्धार सम्भव भएको बालककी आमाले जनाउनु भयो।



