
डडेल्धुरा, असार १२ गते।सुदूरपश्चिमका सात पहाडी जिल्लालाई जोड्ने केन्द्रविन्दु डडेल्धुरा बजार क्षेत्रमा पैदल यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक कार्यालय डडेल्धुरा र स्थानीय व्यवसायीहरूको सहकार्यमा जेब्रा क्रसिङ निर्माण गरिएको छ।
उक्त क्षेत्र सुदूरपश्चिमको मुख्य आवागमन मार्ग भएकाले यहाँको ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण रहँदै आएको छ। यो पृष्ठभूमिमा सुरु गरिएको जेब्रा क्रसिङ निर्माण कार्यलाई सकारात्मक पहलकदमीका रूपमा लिइएको छ।

डिएसपी सुगन्ध श्रेष्ठको नेतृत्व र सक्रिय निर्देशनमा ट्राफिक प्रहरी टोलीले समन्वय गर्दै निर्माण कार्य सफल बनाएको हो। साथै, स्थानीय व्यवसायीहरूको सहयोग र सामुदायिक सहभागिता उल्लेखनीय रह्यो।
यस पहलबाट बजार क्षेत्र सुरक्षित, अनुशासित र ट्राफिकमैत्री बन्ने अपेक्षा गरिएको छ। ट्राफिक सचेतना अभिवृद्धिमा समेत यस्ता प्रयासहरू प्रभावकारी हुने विश्वास लिइएको छ।
डडेल्धुरा अब केवल प्रशासनिक केन्द्र मात्रै नभई, सुदूरपश्चिमका पहाडी जिल्लाहरूलाई जोड्ने सहरी तथा व्यापारिक ‘हब’**को रूपमा विकसित हुँदै गएको सन्देश पनि यो प्रयासले दिएको छ। यस्तो परिवेशमा ट्राफिक र सुरक्षात्मक पूर्वाधारको विकास अपरिहार्य रहेको देखिएको छ।
यस अभियानले सडक प्रयोगकर्ताहरूले नयाँ जेब्रा क्रसिङको सम्मान गर्दै ट्राफिक नियमको पालना गर्नु आवश्यक छ भन्ने सन्देश समेत दिएको छ।



