ललितपुर, असार १२ गते। ललितपुर महानगरपालिकामा लागुऔषध दुर्व्यसनरहित घर अभियान आजबाट औपचारिक रूपमा सुरु गरिएको छ। सानेपामा आयोजित विशेष समारोहमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र उपत्यका प्रहरी कार्यालयका एआईजी टेकबहादुर तामाङबीच समझदारी पत्रमा हस्ताक्षर भएसँगै अभियानको शुभारम्भ गरिएको हो।

लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस (२६ जुन) को सन्दर्भमा सुरु गरिएको यस अभियानको उद्घाटन कार्यक्रममा मेयर महर्जनले ललितपुरलाई दुर्व्यसनमुक्त नगर बनाउने लक्ष्यसहित सबैसँग सहकार्य गर्दै अभियानलाई सफल पार्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “धेरै राम्रो कामको थालनी भएको छ, सबैलाई धन्यवाद।”

कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दीपक थापाले लागुऔषध दुरुपयोगलाई ‘रोग’ को रूपमा परिभाषित गर्दै यसको नियन्त्रणका लागि निरन्तर अभियान तथा अपरेसनहरू सञ्चालन भइरहेको जानकारी दिए।

अभियानलाई व्यवस्थित र प्रभावकारी रूपमा अगाडि बढाउन आईजीपी थापाले एआईजी टेकबहादुर तामाङ र ललितपुर प्रहरी प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीलाई विशेष निर्देशन दिएको बताइएको छ।

यस अभियानको आयोजनामा जिल्ला प्रशासन कार्यालय ललितपुर, जिल्ला प्रहरी परिसर ललितपुर र ललितपुर महानगरपालिकाको संयुक्त भूमिका रहेको छ। अभियान अन्तर्गत ललितपुर जिल्लाभरिका घरहरूलाई दुर्व्यसनमुक्त बनाउने लक्ष्य लिइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय