
काठमाडौं । सरकार लागुऔषध नियन्त्रणको अभियानमा कडा र प्रभावकारी कदम चाल्दै आगामी आर्थिक वर्षभित्र गृह मन्त्रालय अन्तर्गत विशेष ‘लागुऔषध नियन्त्रण विभाग’ स्थापना गर्ने भएको छ।
बिहीबार (असार १२) काठमाडौंमा आयोजित लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस कार्यक्रममा गृहमन्त्री रमेश लेखकले औपचारिक रूपमा विभाग स्थापनाको घोषणा गरेका हुन्।

गृहमन्त्री लेखकले सरकारद्वारा लागुऔषध नियन्त्रणलाई उच्च प्राथमिकतामा राखी रणनीतिक ढंगले अघि बढाइएको जानकारी दिँदै भने, “हामी तपाईँहरूले चाहनुभएको जस्तै छुट्टै विभागको स्थापना छिट्टै गर्नेछौँ। म आज यो घोषणा गर्दछु।”
उनका अनुसार गृहमन्त्रीको जिम्मेवारी सम्हालेको समयदेखि नै यस विषयमा विशेष ध्यान दिइएको हो। गृह मन्त्रालयले यसबीचमा विविध रणनीति, नीति तथा कार्यक्रमहरू तयारी गरी कार्यान्वयनको चरणमा पुर्याएको उनले बताए।
गृहमन्त्री लेखकले लागुऔषधसम्बन्धी समस्या समाजका लागि गम्भीर सामाजिक, स्वास्थ्य र सुरक्षाजन्य चुनौती भएको उल्लेख गर्दै देशभरका कारागारहरूमा रहेका कैदीबन्दीहरूमध्ये दोस्रो ठूलो संख्याले लागुऔषध दुरुपयोग, भण्डारण वा ओसारपसारसम्बन्धी अपराधमा सजाय भोगिरहेको तथ्य प्रस्तुत गरे।
उनका अनुसार अब यो समस्या नियन्त्रण गर्न संवेदनशील, समन्वित र दृढ राजनीतिक इच्छाशक्तिसहितको स्थायी संरचना अपरिहार्य भइसकेको छ। लागुऔषधविरुद्धको लडाइँमा सरकारले अब केन्द्रमै समर्पित विभाग बनाएर काम गर्ने स्पष्ट संकेत दिएको छ।



