
काठमाण्डौ— स्किन क्यान्सर (Xeroderma Pigmentosum) जस्तो दुर्लभ रोगसँग लडिरहेका पोखरा निवासी ९ वर्षीय दिवम मरासनीको अवस्थाले धेरैको मन छोएको छ । घामको किरणले समेत छालामा गम्भीर असर पार्ने यो रोगसँग संघर्षरत दिवम हाल उपचारको क्रममा छन्, जसमा ठूलो आर्थिक खर्च लागिरहेको छ ।
यही सन्दर्भमा नेपाल प्रहरी परिवारबाट अत्यन्तै मानवीय कदम चालेको खबर बाहिर आएको छ । सामाजिक सञ्जालमार्फत दिवमको पीडाबारे थाहा पाएपछि ASI Basic 2-178 Batch का एक जना प्रहरी सहायक निरीक्षकले पहल गर्दै सम्पूर्ण ब्याचलाई जानकारी गराए । सबैको सहमतिमा पहिलो चरणमा रु. ३५,२५४/- र दोस्रो चरणमा २३,७८४|- गरि जम्मा ५९,०३८|- सहयोगस्वरूप संकलन गरी दिवमको परिवारलाई उपलब्ध गराइएको हो ।
सामान्यतः “प्रहरी जनताको सेवामा” भन्ने नारा जस्तै लाग्न सक्छ । तर यस घटनाले त्यो नारा व्यवहारमा कसरी उतारिएको छ भन्ने स्पष्ट प्रमाण दिएको छ । कसैले आग्रह नगर्दा पनि स्वस्फूर्त रूपमा प्रहरी परिवारले देखाएको यो सहानुभूति र सहयोगीयता प्रशंसनीय छ ।
“हामीले ड्युटी मात्रै होइन, मानवता पनि बोक्नुपर्छ भन्ने सन्देश दिएको छ ASI Basic 2-178 Batch प्रहरी टोलीले ।”
दिवमको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सम्पूर्ण प्रहरी परिवारले जनतालाई सकारात्मक प्रेरणा दिएको छ । साथसाथै, जो–कोहीले चाहेमा सम्बन्धीत ब्यक्ति लाई नै सहयोग गर्न सक्ने कुरा समेत खुलाइएको छ । दिवम मरासनीका बुबा दिलीप मरासनी (पोखरा निवासी) मार्फत थप सहयोग गर्न सकिन्छ ।
एक सानो बालकको जीवन र उज्यालो भविष्यका लागि तपाईँको सानो साथ पनि अमूल्य हुन सक्छ ।




