
नेपालगन्ज — चौथो नेपालगन्ज फोटो फेस्टिवलमा स्थानीय फोटोग्राफर अमित रावलले ‘पिपुल्स च्वाइस अवार्ड’ जितेका छन्। अन्तरालको आयोजनामा सम्पन्न फेस्टिवलमा रावलले बर्दियाको बढैयातालमा खिचेको रेडसांक प्रजातिका चराहरुको तस्वीरले इ–सेवा भोटिङमार्फत सर्वाधिक ६,७७७ भोट प्राप्त गर्दै सो अवार्ड हात पारेका हुन्।
नेपालगन्जमा बिहीबार सम्पन्न समापन कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा सदस्य माया पुनले रावललाई नगद ५० हजार १११ रुपैयाँ राशिको पुरस्कार प्रदान गरिन्। पुरस्कार प्राप्त गर्दै फोटोग्राफर रावलले यसले आफूलाई फोटो खिच्ने र संरक्षणको अभियानमा अझ प्रेरणा मिलेको बताए। साथै, उनले पुरस्कारको केही भाग समाजसेवामा खर्च गर्ने घोषणा गर्दै कोहलपुरका मृगौला पीडित फिरोज बक्सलाई १० हजार रुपैयाँ सहयोग गर्ने उद्घोष गरे।

फेस्टिवल अन्तर्गत विभिन्न विधामा उत्कृष्ट फोटोहरूलाई पनि सम्मानित गरिएको छ:
• खेलकुद: तिलक गाहा मगर
• कृषि: बबी साई
• संस्कृति: सञ्जय महर्जन
• दैनिक जीवन: विजय थापा
• प्रकृति तथा संरक्षण: रोमिन थारु
• नेपाल स्माइल: जीवन लामा
• वाईल्ड लाइफ: विनय रावल
• पर्यटन: मनोज पौडेल
• समाचार (न्युज): बरम बुढा
विधागत विजेताहरूलाई जनही ५ हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिएको थियो।
यसै प्रतियोगितामा आर्यन धिमालले खिचेको जाजरकोट भूकम्पपछिको तस्बिर—आफ्नो भत्किएको घर अगाडि रुँदै गरेकी महिलाको दृश्य—‘फोटो अफ द इयर’ घोषित भएको छ। उक्त तस्वीरले ५१ हजार १११ रुपैयाँ पुरस्कार प्राप्त गरेको छ। धिमाल कार्यक्रममा उपस्थित हुन नसकेकाले आयोजकले पुरस्कार उनलाई पुर्याउने व्यवस्था मिलाउने बताएका छन्।
समापन कार्यक्रममा पर्यटन कार्यालय कोहलपुरका प्रमुख टंकनाथ खनाल, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्ररिषि चौलागाईं, पूर्व पिजे क्लब अध्यक्ष तथा प्रतियोगिताका निर्णायक विकास कार्की लगायतको उपस्थिति थियो।
यस अवसरमा अन्तरालद्वारा सञ्चालित दुई दिने फोटोग्राफी तालिम पनि सम्पन्न गरिएको छ। तालिममा सहभागी ३९ जनालाई प्रमाणपत्र वितरण गरिएको थियो। प्रतियोगितामा देशभरबाट छनोट गरिएका १११ फोटोहरूलाई प्रमाणपत्र दिइएको छ र ती तस्बिरहरू काठमाडौं, नेपालगन्जसहित सातै प्रदेशमा प्रदर्शनी गरिनेछ। साथै, ती तस्बिरहरू अन्तरालद्वारा प्रकाशन हुने फोटो पुस्तकमा पनि समावेश गरिने आयोजकले जनाएका छन्।



