
सुरक्षा सरोकार — जिल्ला ट्राफिक प्रहरीले सवारीचालकहरूमाथि गर्ने कारबाहीको सङ्ख्या पछिल्ला तीन वर्षयता क्रमशः घट्दो देखिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार, आर्थिक वर्ष २०७९/८० यता कारबाही संख्या हरेक वर्ष घटिरहेको छ।
चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा २४ हजार ४६४ वटा कारबाही भएका छन्। यो संख्या गत वर्षको सोही अवधिमा ३५ हजार ९२७ र अघिल्लो वर्ष ३७ हजार १५० थियो।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख लक्ष्मीराज जोशीका अनुसार कारबाही घट्नुमा सवारी सचेतना कार्यक्रमको प्रभाव हुनसक्ने बताए।
“सवारी साधनको संख्या दिनहुँ बढ्दै गएको भए पनि, सचेतना र नियमित चेकजाँचले गर्दा कारबाही गर्नुपर्ने अवस्था घटेको हो,” प्रमुख जोशीले भने। सडक दुर्घटना र मानवीय क्षतिमा पनि कमी आएको उनले बताए।
कारबाही संख्या घटे पनि ठूला सवारी साधनका चालकहरू बढी कारबाहीमा पर्ने हुँदा राजस्वमा भने वृद्धि भएको छ। चालु आर्थिक वर्षमा मात्र दुई करोड ३३ लाख ६१ हजार ५०४ रुपैयाँ राजस्व संकलन भइसकेको छ।
ट्राफिक प्रहरीको कारबाहीको यो प्रवृत्तिलाई विश्लेषकहरूले सकारात्मक संकेत मानिरहेका छन्, तर अझै पनि सवारी अनुशासन र सार्वजनिक सचेतनाको निरन्तरता आवश्यक रहेको सुझाव दिएका छन्।



