
काठमाडौं । काठमाडौं उपत्यकामा सञ्चालनमा रहेका विभिन्न राइड सेयरिङ एपमार्फत यात्रुहरूसँग अनधिकृत रूपमा बढी भाडा असुल्ने तथा अफलाइन बार्गेनिङ (सोधभर्ना गरेर रकम तय गर्ने) गर्ने २७८ जना राइडरहरूलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक गुनासो, सामाजिक सञ्जाल, र नियमित अनुगमनका आधारमा ती राइडरहरूलाई नियन्त्रणमा लिई ट्राफिक नियम विपरीत गरिएको कार्यमा कारबाही गरिएको जनाएको छ।

ट्राफिक प्रहरीले उल्लेख गरेको अनुसार, राइड सेयरिङ सेवाको नाममा यात्रुहरूबाट तोकिएकोभन्दा बढी भाडा लिनु, अनलाइन एप बाहिर गएर मौखिक बार्गेनिङ गर्नु, तथा सेवामा पारदर्शिता नअपनाउनु यातायात नियमविपरीतको कार्य हो।
कारबाहीमा परेका राइडरहरूलाई सचेत गराउनुका साथै यातायात व्यवस्था ऐनअनुसार जरिवाना गरिएको र दोहोरिएमा थप कडा कारबाही गरिने ट्राफिक प्रहरी स्रोतले जनाएको छ।



