
काठमाडौं, जेठ १८ – गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गरेको छ। कास्की, धनुषा, बर्दिया र पाँचथर जिल्लामा नयाँ सिडिओ खटाइएको हो।
सहसचिव रुद्रादेवी शर्मालाई कास्कीको सिडिओ बनाइएको छ। उनी यसअघि बर्दियामा कार्यरत थिइन्। कास्कीका पूर्व सिडिओ भरतमणि पाण्डेलाई मन्त्रालयमा सरुवा गरिएको छ।

बर्दियाको सिडिओमा सहसचिव सुरेन्द्र पौडेललाई पठाइएको छ। उनी यसअघि गृह मन्त्रालयमा कार्यरत थिए।
धनुषामा सहसचिव शंकरहरी आचार्यलाई सिडिओको जिम्मेवारी दिइएको छ। मन्त्रालयमा जिम्मेविहीन अवस्थामा रहेका आचार्यलाई राजुराम कडरियालाई सरुवा गर्दै पठाइएको हो।
पाँचथरको सिडिओमा अरुण पोखरेललाई नियुक्त गरिएको छ। पाँचथरका तत्कालीन सिडिओ विष्णु कोइरालालाई अध्यागमन विभागको प्रमुखमा खटाइएको थियो। कोइराला सरुवा भएपछि पाँचथरको सिडिओ पद रिक्त रहेको थियो।
यसअघि अध्यागमन विभागका प्रमुख रहेका तिर्थराज भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निगरानीमा राखेको थाहा पाएपछि ७ जेठमा उनलाई हटाइएको थियो। त्यसपछि कोइरालालाई अध्यागमन प्रमुख बनाइएको हो। भट्टराईलाई जिम्मेविहीन बनाएलगत्तै अख्तियारले उनलाई नियन्त्रणमा लिएको थियो।



