वीरगञ्ज, पर्सा — सशस्त्र प्रहरी बल, पर्साले भारतबाट अवैध रूपमा भित्र्याइएका भन्सार छलीका झण्डै १३ लाख ८० हजार रुपैयाँ बराबरका सामान बरामद गरेको छ। सशस्त्र प्रहरीले शुक्रबार विभिन्न स्थानबाट भन्सार छली गरेर ल्याइएका सामान नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरी बल पर्साका सूचना अधिकारी देवेन्द्रबहादुर सिंहका अनुसार, वीरगञ्ज महानगरपालिका–१६ स्थित नगवा गाउँको डम्पिङ साइटबाट चारवटा साइकलमा लोड गरी ल्याउँदै गरिएको मोबाइल पार्ट्स, फुटबल सुज, लेडिज तथा जेन्ट्स सुजलगायत करिब रु ८ लाख ३६ हजार ९५० मूल्य बराबरका सामान बरामद गरिएको हो। ती सामानहरू आजै वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।

यसैगरी, ड्राइपोर्टबाट खटिएको सशस्त्र प्रहरीको टोलीले वीरगञ्ज महानगरपालिका–२५, चण्डालचोकबाट प्रदेश २–०३–००१ स ४२६४ नम्बरको इ–रिक्सा मा लोड गरी ल्याउँदै गरिएको रु २ लाख ७० हजार मूल्य बराबरका मोटर पार्ट्स नियन्त्रणमा लिएको छ। साथै सो इ–रिक्सा समेत नियन्त्रणमा लिई रु २ लाख मूल्याङ्कन गरिएको जानकारी दिइएको छ।

त्यसैगरी, भगुवा तथा नगवा क्षेत्रबाट रु ७३ हजार ८०० मूल्य बराबरका कपडा र किराना सामानसमेत बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद गरिएका सम्पूर्ण सामानहरू आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय