
काठमाडौँ, जेठ १७ – तीन महिनादेखि रिक्त रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयको नेतृत्वमा अन्ततः स्थायी नियुक्ति भएको छ। हालै प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा भएका माधव प्रसाद श्रेष्ठलाई कर्णाली प्रदेश प्रहरी प्रमुखमा पदस्थापन गरिएको हो।
२२ फागुनमा तत्कालीन प्रमुख जनक भट्टराई एआईजीमा बढुवा भएपछि रिक्त बनेको पद डीआईजी श्रेष्ठको नियुक्तिसँगै पूर्ति भएको हो। उक्त समयदेखि कर्णाली प्रदेश प्रहरीको नेतृत्व निमित्त रूपमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठले सम्हाल्दै आएका थिए।

वैशाख २१ गते गृह मन्त्रालयले सात जना डीआईजीको सरुवा गर्दा कर्णाली प्रदेशका लागि भने कसैलाई पनि तोकिएको थिएन। यो कुराले प्रहरी संगठनभित्रै चर्चाको विषय बनाएको थियो। विभिन्न प्रदेशमा प्रमुखहरूको हेरफेर भए पनि कर्णालीका लागि नेतृत्व टुंगो नलाग्नुले ‘कर्णाली जान नचाहने प्रवृत्ति’को चर्चा समेत प्रहरी वृत्तमा चुलिएको थियो।
स्थायित्वको सुरुआतसँगै अपेक्षा : कर्णालीको सुरक्षा व्यवस्थापनमा नयाँ ऊर्जा
डीआईजी माधव प्रसाद श्रेष्ठ प्रहरी सेवामा अनुशासित, कर्मठ र व्यवहारकुशल अधिकृतका रूपमा चिनिन्छन्। उनले विभिन्न जिम्मेवारी सम्हाल्दै संगठनमा उल्लेखनीय योगदान दिएका छन्। अब कर्णाली प्रदेशको सुरक्षालाई थप चुस्त, व्यावसायिक र जनमुखी बनाउन उनले नेतृत्वदायी भूमिका खेल्ने अपेक्षा गरिएको छ।
तीन महिनासम्म नेतृत्वविहीन रहँदै आएको प्रदेश प्रहरीको कमान्ड स्थायित्वमा आएपछि संगठनिक स्पष्टता र कार्यसञ्चालनमा सुधार आउने विश्वास गरिएको छ।



