काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) अन्तर्गतको विदेशी विश्वविद्यालय राष्ट्रिय समितिले काठमाडौंस्थित द ब्रिटिस कलेजप्रति गम्भीर आपत्ति जनाएको छ। संगठनले कलेजमा देखिएको प्रशासनिक लापरबाही, छात्रवृत्तिको वितरणमा बेवास्ता, तथा विद्यार्थीहरूबाट असुल गरिएको धरौटी रकम नफिर्ता गरिएको विषयमा चासो व्यक्त गर्दै तत्काल सुधार नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ।

संगठनका अध्यक्ष शशांक जैशीद्वारा जारी विज्ञप्तिमा नेपाल सरकारद्वारा २०५९ सालमा जारी गरिएको विदेशी शिक्षण संस्था सम्बन्धी निर्देशिकाको पालना नगरेको भन्दै कलेजको ध्यानाकर्षण गराइएको छ।

“ब्रिटिस कलेजले कानुनी व्यवस्था र सम्बन्धनसम्बन्धी प्रक्रिया पूरा गरेको देखिँदैन, त्यसैले यथाशीघ्र कार्यान्वयनमा ल्याउन माग गर्दछौं,” विज्ञप्तिमा उल्लेख गरिएको छ।

त्यस्तै, सरकारले अनिवार्य गरेको १० प्रतिशत छात्रवृत्तिको वितरण नगर्नु र विद्यार्थीहरूले अध्ययन सकेर कलेज छोडिसकेपछि पनि धरौटी रकम नफिर्ता गर्नुले संस्थाभित्रको शोषण प्रवृत्ति उजागर भएको संगठनको भनाइ छ।

संगठनले समयमै मागहरू पूरा नभए चरणबद्ध आन्दोलनको चेतावनीसमेत दिएको छ। यस विषयमा ब्रिटिस कलेज प्रशासनले भने अहिलेसम्म औपचारिक प्रतिक्रिया दिएको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय