काठमाडौं— सशस्त्र प्रहरी बलका डिएसपी ऋषिकेश राउतलाई मोरङको रानी भन्सार क्षेत्रमा खटिएको सुरक्षागत जिम्मेवारीमा कमजोरी देखिएपछि कारबाहीको लागि फिर्ता बोलाइएको छ। सशस्त्र प्रहरी मुख्यालयले उनलाई निलम्बन नगरे पनि जिम्मेवारीबाट हटाउँदै अनुशासनिक प्रक्रिया अघि बढाएको हो।

गृह मन्त्रालयस्तरीय सुरक्षा बैठकमा गृहमन्त्रीले रानी भन्सार नाकामा भइरहेको तस्करीप्रति असन्तुष्टि व्यक्त गरेपछि यो निर्णय सार्वजनिक रूपमा आएको हो। मन्त्रालय स्रोतका अनुसार राउतको भूमिकाले रानी क्षेत्रको सुरक्षामा गम्भीर कमजोरी देखिएको हो।

रानी भन्सार आसपासका सीमावर्ती नाकाबाट खुलमखुला हुने अवैध चोरीपैठारी, तस्करी र अनियमित गतिविधिमा सशस्त्र प्रहरीको निगरानी कमजोर भएको गुनासो निरन्तर आइरहेको थियो। उक्त उजुरी सशस्त्र प्रहरी मुख्यालयमा पुगेपछि छानबिन सुरु गरिएको थियो। छानबिनकै आधारमा राउतलाई फिर्ता बोलाइ अमरबहादुर खत्रीलाई सो क्षेत्रमा जिम्मेवारी दिइएको छ।

स्थानीय सूत्रका अनुसार पछिल्लो समय रानी नाकाबाट लागुऔषध, मदिरा, खाद्यान्न लगायतका वस्तुहरू व्यापक रूपमा तस्करी हुने गरेको छ। यस्तो संवेदनशील क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरूबाट अपेक्षित कडाइ नभएको गुनासो व्यापक बनेपछि सशस्त्र प्रहरी बलमाथि नै प्रश्न उठेको हो।

सुरक्षा संयन्त्रमा कमजोरी देखिएपछि सशस्त्र प्रहरी बलले अनुशासन कडाइका साथ लागू गर्ने नीति लिएको देखिएको छ। डिएसपी राउतको फिर्ता बोलाइ एक चेतावनीको रूपमा लिइएको छ, जसले अन्य सुरक्षाकर्मीहरूलाई पनि सतर्क र जिम्मेवार बन्न सन्देश दिएको छ।

रानी भन्सार जस्तो संवेदनशील सीमा क्षेत्रको सुरक्षा व्यवस्थापन सुदृढ बनाउन अब नयाँ खटिएका डिएसपी अमरबहादुर खत्रीले कस्तो भूमिका निर्वाह गर्छन् भन्ने आम चासोको विषय बनेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय