
इलाम, जेठ ४ — “ अबको मुद्दा लागुऔषध विरुद्ध” भन्ने सशक्त नारासहित देशभर सञ्चालन भइरहेको दुर्व्यसन विरोधी अभियान अन्तर्गत Fight Against Narcotic (FAN) कार्यक्रमसँग सम्बन्धित विभिन्न सचेतनामूलक गतिविधिहरू इलाममा भव्य रूपमा सम्पन्न भएका छन्।
उक्त कार्यक्रम जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख, प्रहरी उपरीक्षक एक नारायण कोइरालाको संयोजनमा सुर्योदय नगरपालिका–१०, श्री फिक्कल माध्यमिक विद्यालय, फिक्कलमा कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रममा FAN CLUB मा आबद्ध विद्यालयका विद्यार्थीहरूसँग दुर्व्यसन तथा लागुऔषधको असर, न्यूनीकरणका उपाय, विद्यार्थीको भूमिका र प्रहरीसँगको सहकार्यबारे अन्तरक्रिया तथा अनुशिक्षण गरिएको थियो।

कार्यक्रमका क्रममा कोशी प्रदेश प्रहरी कार्यालयबाट उपलब्ध गराइएका विशेष FAN T-shirt हरू क्लबका सदस्यहरूलाई वितरण गरिएको थियो, जसले उनीहरूको उत्साह अभिवृद्धि गरेको छ। कार्यक्रममा प्रहरी अधिकारीहरूले दुर्व्यसनको सामाजिक, मानसिक, स्वास्थ्य र कानुनी प्रभावहरूबारे स्पष्ट रूपमा प्रकाश पार्दै विद्यार्थीलाई सचेत र जागरूक रहन आग्रह गरेका थिए।
यसै अभियानलाई थप प्रभावकारी बनाउँदै, प्रहरी निरीक्षक श्री रमेश राईज्यूको सक्रिय समन्वयमा आजकै दिन इलाम नगरपालिका–०७ स्थित श्री आदर्श मावि र इलाम नगरपालिका–०४ स्थित श्री अमर माविमा पनि FAN CLUB सदस्य विद्यार्थीहरू तथा सम्बन्धित फोकल पर्सनहरूसँग छुट्टाछुट्टै अन्तरक्रिया तथा टी-शर्ट वितरण कार्यक्रमहरू सम्पन्न गरिएका छन्।
कार्यक्रममा सहभागी शिक्षक, अभिभावक तथा समुदायका प्रतिनिधिहरूले पनि दुर्व्यसन विरुद्धको प्रहरी पहलको खुलेर प्रशंसा गरेका थिए। विद्यार्थीहरूले पनि आफूहरू FAN CLUB मार्फत विद्यालय तथा समाजमा सन्देश फैलाउने जिम्मेवारीलाई गम्भीरतापूर्वक लिने प्रतिबद्धता जनाएका थिए।




