विराटनगर । गृहमन्त्री रमेश लेखकले सीमा क्षेत्रमा भइरहेको तस्करी नियन्त्रणमा नआए सुरक्षानिकाय प्रमुखहरू कारबाहीमा पर्ने चेतावनी दिएका छन्। मोरङ उद्योग व्यापार संघ र नेपाल उद्योग परिसंघ कोशी प्रदेशले संयुक्त रूपमा आयोजना गरेको संवाद कार्यक्रममा गृहमन्त्री लेखकले स्पष्ट शब्दमा भने, “६० दिनभित्र तस्करी नियन्त्रणको अनुभूति नभए जिम्मेवार सुरक्षानिकाय प्रमुखमाथि कारबाही हुन्छ।”

गृहमन्त्री लेखकले उपभोग्य वस्तुमा अत्यधिक भन्सार महसुल तथा मूल्य अभिवृद्धि कर (भ्याट) को कारण तस्करी मौलाएको स्वीकार गरे। उनले भने, “दैनिक उपभोग्य वस्तुमा चर्को कर लगाइएको छ, जसका कारण उपभोक्ता सस्तो मूल्यमा सामान किन्न सीमापारिका बजार धाउने प्रवृत्ति बढेको छ, र यसले हाम्रो बजार प्रभावित भएको छ।”

व्यवसायीहरूले भने सुरक्षानिकायको नै संरक्षणमा तस्करी मौलाएको आरोप लगाए। चिनी, सूती कपडा, भान्साका सामान लगायत दैनिक रूपमा प्रयोग हुने वस्तुहरूमा अत्यधिक कर लागेकाले तस्करी बढेको भन्दै उनीहरूले पटक–पटक महसुल पुनर्विचारका लागि माग गर्दा पनि राज्यले चासो नदिएको गुनासो गरे।

गृहमन्त्री लेखकले आफ्नो प्रतिबद्धता दोहोर्याउँदै भने, “सीमाबाट तस्करी गर्न चन्द्रमा वा दिल्लीबाट मान्छे आउँदैनन्, यहिँका व्यापारीले तस्करी गर्छन्। उनीहरूको गोदाममा तस्करीका सामान थुप्रिन्छन्। तपाईंहरू पनि सतर्क रहनुहोस्।”

गृहमन्त्रीले उद्योगीहरूको मागअनुसार अत्यावश्यक वस्तुहरूमा भन्सार महसुल परिमार्जन गर्न प्रधानमन्त्री, अर्थमन्त्री र मन्त्रिपरिषद् समक्ष विषय उठाउने प्रतिबद्धता पनि जनाए।

कार्यक्रममा सहभागी उद्योगीहरूका अनुसार तस्करी र लागुऔषधका कारण सीमावर्ती बजारमा व्यापार चौपट भएको छ, अपराध दर बढेको छ, र व्यवसायिक तथा मानवीय सुरक्षामा चुनौती थपिएको छ। केही व्यवसायीले सुरक्षा चुनौतीका कारण सुनचाँदी पसलमा हतियारसहितका गार्ड राख्न पाउने व्यवस्था गरिदिन आग्रहसमेत गरे।

त्यस्तै, ट्राफिक प्रहरीले दिएको अनावश्यक हैरानीका कारण भारतीय पर्यटक सास्ती भोगिरहेका र यसले कोशी प्रदेशको पर्यटन व्यवसायमा नकारात्मक असर परेको गुनासो पनि उठाइएको थियो।

गृहमन्त्री लेखकले अन्त्यमा भने, “अब ६० दिनभित्र तस्करी नियन्त्रण हुन्छ। त्यो अनुभव नभए मलाई फेरि भेट्नुस्।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय