रौतहट — बागमती नदीमा बढ्दो अवैध उत्खननको गुनासोपछि रौतहट जिल्ला प्रशासन कार्यालयले शुक्रबार स्थलगत निरीक्षण गरेको छ। निरीक्षणका क्रममा गढीमाई नगरपालिका–६ स्थित बालुवा घाटमा अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेको एक जेसिबी नियन्त्रणमा लिइएको छ। नियन्त्रणमा लिइएको जेसिबीलाई सशस्त्र प्रहरीको समनपुरस्थित बेस क्याम्पमा राखिएको छ।

जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख विनोद कुमार खड्काको नेतृत्वमा गरिएको टोलीमा जिल्ला समन्वय समितिका सभापति राम अयोध्या यादव, नेपाल प्रहरीका एसपी नेत्रमणि गिरी, सशस्त्र प्रहरीका एसपी सन्तोष कुमार बस्नेत, र राष्ट्रिय अनुसन्धानका एसपी अभिनयकुमार सिंह सहभागी थिए। टोलीले रमौली, विश्रामपुर, हरैया पल्टुवा हुँदै समनपुर क्षेत्रका विभिन्न नदीघाटहरू निरीक्षण गरेको थियो।

निरीक्षणका क्रममा प्रमुख क्रसर उद्योगमा भण्डारण गरिएको बालुवा र गिट्टीको स्रोत र स्टक अभिलेख हेर्न समेत निर्देशन दिइएको जनाइएको छ। रौतहटका पूर्वी भागको बागमती र पश्चिमी भागको लालबकैया नदीबाट कुनै आधिकारिक ठेक्का नलिइकनै निरन्तर अवैध उत्खनन भइरहेको पाइएको छ। नदीजन्य सामग्रीहरू क्रसर उद्योगमा जम्मा गरेर बढी मूल्यमा बिक्री गर्ने कार्य भइरहेको स्थानीयवासीहरूको आरोप छ।

जिल्ला समन्वय समितिका सभापति नेपाली कांग्रेसका राम अयोध्या यादव निर्वाचित भएयता नदी दोहन झनै तीव्र भएको भन्दै स्थानीयहरूमा असन्तुष्टि देखिएको छ। सभापतिनिकट क्रसर व्यवसायीहरूकै मिलेमतोमा नदी शोषण भइरहेको भन्दै अनुगमन प्रक्रियामा समेत हस्तक्षेप भइरहेको आरोप लगाइएको छ।

स्थानीय प्रशासनको पहलमा यो आर्थिक वर्षमा पहिलोपटक गरिएको निरीक्षणलाई ‘झारो टार्ने काम’ मात्र भएको भनी आलोचना गरिएको छ। स्थानीयवासीहरूले नियमित निगरानी र कडा कारवाही नगरेमा रौतहटका प्रमुख नदीहरू बाँझिने खतरा रहेको चेतावनी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय