
काठमाडौं — नागढुंगामा ड्युटीमा खटिएका प्रहरी जवानमाथि ट्राफिक प्रहरी निरीक्षकले कुटपिट गरेपछि उपत्यका प्रहरी कार्यालय रानीपोखरीले छानबिन समिति गठन गरेको छ।
प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टको संयोजकत्वमा गठन गरिएको पाँच सदस्यीय समितिमा ट्राफिक प्रहरी कार्यालय रामशाहपथका डीएसपी लोकेन्द्र सिंह गुरू काठमाडौं जिल्ला प्रहरी परिसरका एक निरीक्षकसमेत छन्। समितिलाई एक साताभित्र छानबिन प्रतिवेदन बुझाउन भनिएको छ।

बुधबार दिउँसो ट्राफिक प्रहरी प्रभाग, नागढुंगाका प्रमुख निरीक्षक जितेन्द्रकुमार साहले सोही प्रभागमा कार्यरत जवान मदन खड्कामाथि कुटपिट गरेका थिए।
उक्त घटनाको भिडियो सार्वजनिक भएपछि साहलाई तत्काल जिम्मेवारीमुक्त गरिएको छ। रानीपोखरी प्रहरी कार्यालयका अनुसार छानबिन प्रतिवेदनका आधारमा विभागीय कारबाही अघि बढाइनेछ।



