काठमाण्डौं— काठमाडौंको थानकोटमा मंगलबार ट्राफिक प्रहरी र सिभिल (जनपद) प्रहरीबीच भएको झडपको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाले चौतर्फी ध्यान तानेको छ। भिडियोमा एक ट्राफिक प्रहरी इन्स्पेक्टरले जनपद प्रहरीका एक सहायक हवल्दारलाई चड्कन हानेको देखिन्छ।

प्रहरी स्रोतका अनुसार घटना नागढुंगाको फिल्डमा खटिएको बेलामा भएको हो। घटनाको मूल कारण भारतबाट आएको एउटा सवारीसाधनसँग सम्बन्धित छ। फिल्डमै खटिएका ट्राफिक इन्स्पेक्टरले जनपद प्रहरीलाई ती भारतीय नम्बर प्लेटका सवारीसाधनसँग पैसा मागेर लिँदै गरेको देखेपछि आक्रोशमा आएर यस्तो कुटपिटको अवस्था सिर्जना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

घटनापछि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका प्रमुख एसएसपी विनोद घिमिरेले घटनाबारे प्रारम्भिक छानबिन सुरु गरिएको र दुबै प्रहरीलाई कार्यालयमा बोलाएर सोधपुछ भइरहेको जानकारी दिएका छन्।

“गल्ती गरे पनि त्यसको अलग कानुनी प्रक्रिया हुन्छ, सडकमै हात हाल्नु स्वीकार्य होइन,” उनले भने। एसएसपी घिमिरेले थपे, “भिडिओ सार्वजनिक भएपछि हामीले तत्काल त्यसबारे बुझ्न पहल गरेका छौं। दुबै पक्ष संयमतापूर्वक व्यवहार गर्नु आवश्यक छ।”

भिडिओमा देखिएका ट्राफिक इन्स्पेक्टरले नै सेवा निगरानीका क्रममा पैसा माग्ने कार्य देखेपछि भावनामा बहिएर प्रतिक्रिया जनाएको हुन सक्ने अनुमान गरिएको छ। यद्यपि, कानुन अनुसार कुनै पनि प्रहरी कर्मचारीले अनुशासन र संयमता नछाड्ने अपेक्षा गरिन्छ।

प्रहरी संगठनभित्रै यस प्रकारको घटना हुनु दुर्भाग्यपूर्ण विषय हो। यस्ता घटनाले सुरक्षा निकायप्रतिको आमजनताको विश्वासमा नकारात्मक असर पार्न सक्छ। त्यसैले, प्रहरी संगठनभित्रै स्वअनुशासन, पारदर्शिता र पारस्परिक सम्मान कायम राख्न आवश्यक छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय