काठमाडौं, कोटेश्वर — नयाबानेश्वर प्रहरी वृत्त र प्रहरी प्रभाग कोटेश्वरमा हालै सरुवा भएका प्रहरी अधिकृतहरूको बिदाइ तथा स्वागत सम्मानस्वरूप ‘स्वागत एवं फेरि भेटौंला’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कोटदेवी बिद्यानगर समाज सुधार समिति र नरेफाट सेवा समाजको संयुक्त आयोजनामा भएको कार्यक्रममा नयाबानेश्वर प्रहरी वृत्तबाट सरुवा भएका प्रहरी नायब उपरीक्षक (डीएसपी) बिरेन्द्र गोदार र प्रहरी प्रभाग कोटेश्वरबाट सरुवा भएका प्रहरी निरीक्षक दलकुमार राईलाई नागरिक अभिनन्दनपत्रसहित सम्मान गरिएको हो।

कार्यक्रमको प्रमुख आतिथ्य पूर्व प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले गरेका थिए। कार्यक्रममा पूर्व नायब महान्यायाधिवक्ता सूर्यप्रसाद कोइराला, पूर्व उच्च अदालतका न्यायाधीश डिल्लीराज आचार्य, समाजसेवीहरू सार्किमान बल, पद्म कुमार रेग्मी, नारायण नेपाल, नवराज केसी, जीवन तामाङ, रविन्द्र थापा, दिपक केसी, ईश्वर राउत, नरहरि अधिकारी लगायतले मन्तव्य राख्दै गोदार र राईले शान्ति सुरक्षा कायम गर्न खेलेको भूमिकाको प्रशंसा गरे।

उक्त अवसरमा नयाबानेश्वर प्रहरी वृत्तमा नयाँ जिम्मेवारी सम्हालेका डीएसपी हरि खतिवडा र कोटेश्वर प्रहरी प्रभागमा कार्यभार सम्हालेका इन्सपेक्टर यज्ञराज भट्टलाई खादा र मालासहित स्वागत गरियो।

कार्यक्रम कोटदेवी बिद्यानगर समाज सुधार समितिका अध्यक्ष देव चौलागाईंको अध्यक्षतामा सम्पन्न भएको थियो। मुक्तिराज आचार्यले सञ्चालन र मुरारी हुमागाईंले संयोजन गरेका कार्यक्रममा स्थानीय अगुवा, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीयवासीहरूको उल्लेख्य उपस्थिति थियो।

प्रमुख अतिथि थपलियाले प्रहरीको योगदानलाई संस्थागत समर्थनका साथ अघि बढाउनुपर्नेमा जोड दिँदै, समुदाय–प्रहरी साझेदारीलाई अझ सशक्त बनाउन आग्रह गरे।

कार्यक्रमको समापनमा अध्यक्ष चौलागाईंले सहभागी सबैलाई धन्यवाद दिँदै यस्तो सहकार्यबाट सामाजिक सद्भाव, सुरक्षा र उत्तरदायित्वको भावना अझ सुदृढ हुने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय