
काठमाण्डौं, बैशाख १७ — तुलसीपुर उपमहानगरपालिकाको गाडीले ठक्कर दिँदा एक जना बालिकासहित दुई जना घाइते भएका छन्। गाडी उपमहानगरकी यान्त्रिक शाखा प्रमुख रेवा रावतले चलाएकी पुष्टि भएको छ।
आज बिहान सुकौरा रोडको पानी ट्याङ्की नजिक रा १ झ १४२ नम्बरको सरकारी गाडीले प्र.२००१ प १६७९ नम्बरको स्कुटरलाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता, इन्सपेक्टर सूर्य रानाले जानकारी दिए।

ठक्करबाट तुलसीपुर–५ निवासी ४२ वर्षीय शंकर रेग्मी र उनकी चार वर्षीया नातिनी प्रिन्स बुढाथोकी घाइते भएका छन्। रेग्मीको खुट्टामा चोट लागेको छ भने बालिकाको टाउको, छाती, मुख र निधारमा चोट लागेको प्रहरीले जनाएको छ। उनीहरूको उपचार राप्ती उपक्षेत्रीय अस्पतालमा भइरहेको छ।
दुर्घटनापछि रावत घटनास्थलबाट फरार भएकी थिइन्। प्रारम्भिक रुपमा दुर्घटनालाई चालकबाट भएको देखाउने प्रयास भए पनि घटनास्थलमा रहेका स्थानीयले प्रत्यक्ष रूपमा रावतले नै गाडी चलाएको देखेको पुष्टि गरेपछि विवाद चुलिएको थियो।
स्थानीयको दबाबपछि प्रहरीले रावतलाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार रावतसँग सवारी चालक अनुमतिपत्र (लाइसेन्स) थिएन। उनी चालकलाई साथमा राखेर गाडी सिक्ने क्रममा गाडी चलाएकी थिइन्। सरकारी गाडीको दुरुपयोग गर्दै अधिकृतबाट यस्तो लापरवाहीपूर्ण व्यवहार देखिनु राज्य संयन्त्रप्रति गम्भीर प्रश्न उठाएको छ।



