
सुरक्षा सरोकार / काठमाण्डौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनलाई लक्षित गर्दै प्रहरीले काठमाडौंका निषेधित क्षेत्रहरूमा सुरक्षा व्यवस्था कडा बनाएको छ। प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै बिहानैदेखि व्यापक रूपमा सुरक्षाकर्मी परिचालन गरिएको हो।
उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालका अनुसार, राप्रपाका नेताहरूले निषेधित क्षेत्र तोड्ने अभिव्यक्ति दिएपछि जिल्ला सुरक्षा समितिबाट निर्णय गराएर विशेष सुरक्षा योजना लागू गरिएको छ। सिंहदरबार, संसद भवन नयाँबानेश्वर, माइतीघर मण्डला, प्रधानमन्त्री निवास बालुवाटार, राष्ट्रपतिको कार्यालय लगायतका क्षेत्रलाई सरकारले निषेधित क्षेत्र घोषणा गरिसकेको छ।

राप्रपाले प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति नलिएपछि सुरक्षा व्यवस्था अझै कडा बनाइएको हो। सुरक्षाको लागि सशस्त्र प्रहरीलाई पनि ब्याक सपोर्टको रूपमा तैनाथ गरिएको छ भने राष्ट्रिय अनुसन्धान विभागबाट सूचना संकलन गर्न सुरक्षाकर्मी खटाइएको छ। काठमाडौं जिल्लाको सुरक्षा कमान्ड एसएसपी विश्व अधिकारीले लिनेछन्।
सुरक्षा रणनीति र प्रहरीको तैनाथी :
• सिंहदरबार र सर्वोच्च अदालत: भद्रकाली र माइतीघरमा कर्डन ड्युटी।
• संसद भवन: बबरमहलदेखि तीनकुनेसम्म थप टोली परिचालन।
• राष्ट्रपति भवन: महाराजगञ्ज र नारायणगोपाल चोक क्षेत्रमा कडा सुरक्षा।
• उपराष्ट्रपति कार्यालय: बालाजुबाट अस्कल क्याम्पस हुँदै आउने सवारी साधनलाई ठमेल डाइभर्सन।
• प्रधानमन्त्री निवास: नक्साल र भाटभटेनी नजिक कर्डन ड्युटी।
• सभामुख निवास: गैरीधाराबाट खोर्सानीटारतर्फ जानेलाई नियन्त्रण गर्न सुरक्षा टोली खटाइएको।
प्रदर्शन स्थलमा भेला भएका व्यक्तिहरूमाथि निगरानी बढाइएको छ र निषेधित क्षेत्रमा प्रवेश प्रयास गरेमा तत्काल पक्राउ गर्ने रणनीति प्रहरीले अपनाएको छ।



