
भक्तपुर — ट्राफिक प्रहरी प्रभाग, गठ्ठाघरले सवारी चालकहरूमा ट्राफिक नियमबारे जनचेतना फैलाउने उद्देश्यसहित ‘दुई पाङ्ग्रेचालकसँग दुई मिनेट’ नामक सचेतना कार्यक्रम सुरु गरेको छ।
काठमाडौं उपत्यकाभित्र सञ्चालनमा ल्याइएको यो कार्यक्रम विशेष गरी दुई पाङ्ग्रे सवारी चालकहरूलाई लक्षित गरिएको हो। काठमाडौं उपत्यका ट्राफिक कार्यालय प्रमुख एसएसपी विनोद घिमिरेका अनुसार कार्यक्रम हरेक दिन विशेष स्थानहरू छनोट गरी कम्तीमा १ घण्टा नियमित रूपमा सञ्चालन गरिनेछ।

कार्यक्रम अन्तर्गत चालकहरूलाई ट्राफिक नियम, सडक सुरक्षा मापदण्ड तथा जिम्मेवार सवारी सञ्चालनबारे छोटो तर प्रभावकारी जानकारी दिइनेछ।
ट्राफिक प्रहरी प्रभाग, गठ्ठाघरका प्रमुख प्रहरी नायब निरीक्षक लोकेन्द्र खड्काले सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित सडक यात्राको सुनिश्चितताका लागि यस्ता सचेतनामूलक कार्यक्रम अत्यावश्यक रहेको बताए। “यदि सवारी चालक, सवारी धनी, व्यवसायी र जिम्मेवार नागरिकहरूले ट्राफिक नियमअनुसार सवारी सञ्चालन गरे, दुर्घटनाको सम्भावना उल्लेखनीय रूपमा कम हुन सक्छ,” उनले भने।
कार्यक्रममा सहभागी चालकहरूले यस्ता जानकारीमूलक प्रयासहरू अत्यन्त उपयोगी रहेको प्रतिक्रिया दिएका छन्। ट्राफिक कार्यालयले आगामी दिनहरूमा कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै लैजाने जनाएको छ।




