
नेपालगन्ज— सर्वसाधारण नागरिकहरू प्रायः प्रहरीले डर महसुस गर्ने गर्छन्, तर ट्राफिक प्रहरी प्रविन आचार्यको नाम सुन्दा जनतामा न्यायको अनुभूति र खुसी पैदा हुन्छ।
नेपालगन्जस्थित ट्राफिक प्रहरी कार्यालयमा कार्यरत बरिष्ठ नायब निरीक्षक (इन्स्पेक्टर) प्रविन आचार्यलाई ट्राफिक व्यवस्थापनमा उत्कृष्ट कार्य गरेबापत सम्मान गरिएको छ। सुरक्षित यात्रा नेपालले नेपालगन्जमा आयोजना गरेको विशेष कार्यक्रममा उनलाई सम्मान गरेको हो।

सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्णप्रसाद बेलवासेले दुर्घटना न्यूनीकरण, सुरक्षित तथा मर्यादित यात्राका लागि आचार्यले खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै सम्मान गरिएको बताए।
लुम्बिनी प्रदेश प्रहरी प्रमुख, डिआइजी दान बहादुर कार्कीले आचार्यलाई सम्मान पत्र प्रदान गरेका थिए। कार्यक्रममा डिआइजी कार्कीले राम्रो कार्य गर्ने प्रहरीलाई सम्मान गर्ने नीति रहेको उल्लेख गर्दै यस प्रकारको सम्मानले अझ राम्रो काम गर्न हौसला प्रदान गर्ने बताए।
सम्मान ग्रहणपछि प्रविन आचार्यले यो सम्मानले थप जिम्मेवारी थपेको बताउँदै बाँकेको ट्राफिक व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।
नेपालगन्ज ट्राफिक पोस्टको प्रमुखका रूपमा कार्यभार सम्हालेपछि आचार्यले नगरको ट्राफिक व्यवस्थापनमा उल्लेखनीय सुधार ल्याएका छन्। लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा कार्यरत रहँदा उनले उत्कृष्ट सेवा प्रदान गर्दै आएका छन्, जसका कारण उनी अन्य जिल्लाहरूमा पनि सम्मानित भइसकेका छन्।
उनले कार्यक्षेत्रमा मात्र नभई ट्राफिक कार्यालयको भवन निर्माणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको पाइन्छ।



