काठमाडौं — पोखरास्थित सशस्त्र प्रहरीको हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालय, लामापाटनको शौचालयमा १३ दिनअघि मृत अवस्थामा फेला परेकी २८ वर्षीया सशस्त्र प्रहरी इन्स्पेक्टर सन्तोषी महतको आत्महत्या प्रकरणले नयाँ मोड लिएको छ। अनुसन्धानमा त्रिपक्षीय प्रेम सम्बन्ध नै उनको मृत्युको प्रमुख कारण देखिएको छ।

प्रेम सम्बन्धका कारण मानसिक तनाव— सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–८, लाँगर्चे घर भएकी महत सशस्त्र प्रहरी संगठनभित्रकै दुई पुरुषसँग प्रेम सम्बन्धमा रहेको खुलासा भएको छ। परिवारको जाहेरीका आधारमा सुदूरपश्चिम घर भई तनहुँको भानुस्थित सशस्त्र प्रहरी नम्बर–२३ मनकामना गणमा कार्यरत इन्स्पेक्टर विवेक जोशीलाई पक्राउ गरिएको छ। उनी महतका प्रेमी भएको खुलेको छ।

तर अनुसन्धानका क्रममा महत तालिम केन्द्रकै सशस्त्र हवल्दार रमेश शाहीसँग पनि अन्तरंग सम्बन्धमा रहेको पाइएको छ। महतले प्रयोग गर्ने मोबाइल तथा सञ्चार सामग्रीको विश्लेषण गर्दा शाहीसँग उनको विगत तीन वर्षदेखि मित्रता रहेको देखिएको छ भने इन्स्पेक्टर जोशीसँग करिब दुई वर्षदेखि प्रेम सम्बन्ध रहेको पुष्टि भएको छ।

गम्भीर विवादपछि आत्महत्या— इन्स्पेक्टर महतको गतिविधिप्रति जोशी केही समयदेखि नै शङ्कित थिए। ७ फागुन (प्रजातन्त्र दिवस) का दिन महत आउट पासमा रहेकी थिइन्, र उनी पोखराको लेकसाइडमा हवल्दार शाहीसँग रहेको प्रमाण फेला परेको छ। त्यही समयमा जोशी पनि तनहुँबाट पोखरा आएका थिए।

९ फागुनको राति जोशीले महतसँग भेट गरेका थिए। उनीहरू लेकसाइडको एक होटलमा बसेका थिए। राति करिब १ बजे महतको मोबाइलमा हवल्दार शाहीबाट आपत्तिजनक सन्देश आएको देखेपछि जोशी आक्रोशित भएका थिए। बिहानसम्म उनीहरूबीच गम्भीर विवाद भएको खुलेको छ।

१० फागुनको दिन जोशीले हवल्दार शाहीलाई बोलाएर महतकै अगाडि सम्झाउने प्रयास गरेका थिए। उनले शाहीलाई केही झापड हान्नुका साथै सम्बन्ध तोड्न चेतावनी दिएका थिए। महतले पनि जोशीसँग माफी माग्दै यस्तो गल्ती दोहोर्याउन नदोहोर्याउने प्रतिज्ञा गरिन् र तालिम केन्द्र फर्किन्।

तर सोही रात महतले तालिम केन्द्रको शौचालयमा झुन्डिएर आत्महत्या गरेकी थिइन्।

यो घटनाको विस्तृत छानबिनका लागि राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान, मातातीर्थका डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको छ। समितिले घटनाको विस्तृत अध्ययन गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय