
काठमाण्डौं — बैतडीमा भिरबाट लडेर एक प्रहरी हवल्दारको मृत्यु भएको छ।
डिलासैनी गाउँपालिका–३ सिमार प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार लोकेन्द्रबहादुर खडायत बुधबार साँझ घरबाट कार्यालय फर्किने क्रममा भिरबाट लडेर गम्भीर घाइते भएका थिए। उनी आफ्नो घर दार्चुलाको शैल्यशिखर नगरपालिका–१ बारिलबाट कार्यालय जाँदै गर्दा दुर्घटनामा परेका हुन्।

घटनापछि उनलाई तत्काल गोकुलेश्वर अस्पताल पुर्याइएको थियो। तर, उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको छ भने मृतक खडायतको शव गोकुलेश्वर अस्पतालमै राखिएको छ।



