
महोत्तरी — जिल्ला प्रहरी कार्यालय महोत्तरीको कन्ट्रोल रुममा ड्युटी गरिरहेका प्रहरी सहायक निरीक्षक (असई) सुरेन्द्र राम चमारको निधन भएको छ।
बुधबार साँझ ५ बजे अचानक श्वासप्रश्वासमा समस्या भएपछि उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जलेश्वर लगिएको थियो। तर स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिए पनि चिकित्सकहरूले बचाउन सकेनन्।

सुगर र ब्लडप्रेसरका दीर्घरोगी रहेका असई चमारलाई अकस्मात श्वास लिन कठिन भएपछि चिकित्सकहरूले सिपिआर (CPR) सहित अक्सिजन आपूर्ति गर्न प्रयास गरे। तर सबै प्रयास असफल भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी सन्तुप्रसाद जयसवारले जानकारी दिए।
२३ वर्ष १० महिना ८ दिन प्रहरी सेवामा रहेका चमार सात महिना अघि सिन्धुपाल्चोकबाट सरुवा भई महोत्तरी आएका थिए।
उनको पोस्टमार्टमपछि शव परिवारको जिम्मा लगाउने तयारी भइरहेको डिएसपी जयसवारले बताए। साथै, असई चमारको निधनले प्रहरी संगठनलाई अपूरणीय क्षति पुगेको उनले उल्लेख गरे।



