काठमाण्डौं। दाङको तुलसीपुरस्थित एनएमबी बैंक लुट्न पुगेका एक युवकलाई प्रहरीले मध्यरातमा पक्राउ गरेको छ।

तुलसीपुर उपमहानगरपालिका-५, बिपी चोकमा रहेको एनएमबी बैंकको ताला फोडी चोरी गर्न प्रवेश गरेका तुलसीपुर-१८, दुधरासका २७ वर्षीय सन्तोष चौधरीलाई प्रहरीले आज राति २ बजे विभिन्न सामानसहित नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार चौधरीले बैंकभित्र छिरेर चोरीको प्रयास गर्ने क्रममा पक्राउ परेका हुन्। उनको साथबाट बैंक लुट्न प्रयोग गरिएका हथौडा, छिनो, प्लास, ह्वाक्सा ब्लेड लगायतका सामान र रा ५ प ९७९ नम्बरको स्कुटर बरामद गरिएको छ।

स्थानीय बासिन्दाले बैंक लुट्न लागेको खबर दिएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले तत्कालै घटनास्थलमा पुगेर चौधरीलाई बैंकभित्रै पक्राउ गरेको थियो।

प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय