बारा – जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) महेन्द्र खड्कालाई भव्य सम्मानसहित बिदाइ गरिएको छ।

बाराका १२ भन्दा बढी सामाजिक संस्थाले गोपाल सेवा समितिको कार्यालयमा आयोजित विशेष कार्यक्रममार्फत एसपी खड्कालाई बिदाइ गरेका हुन्।

बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै गोपाल सेवा समितिका अध्यक्ष जङ्गबहादुर यादवले बारामा कार्यरत रहँदा खड्काले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेकोमा धन्यवाद व्यक्त गरे। उनले खड्काको सफल कार्यकालको प्रशंसा गर्दै नयाँ कार्यक्षेत्रका लागि हार्दिक शुभकामना व्यक्त गरे।

नेपाल पत्रकार महासंघ बाराकी उपाध्यक्ष प्रीयन्का दासले खड्कालाई एक निस्पक्ष, इमानदार र कुशल प्रहरी अधिकृतको रूपमा सम्मान गरे। उनले खड्काको नेतृत्वमा शान्ति सुरक्षा व्यवस्थापन प्रभावकारी बनेको र विश्वप्रसिद्ध गढिमाई मेलालाई सफल बनाउन उनले निर्वाह गरेको भूमिकाको स्मरण गरिन्।

सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष महमद सगिरले खड्काको सुमधुर व्यवहार र उत्कृष्ट नेतृत्व क्षमताका कारण बारा जिल्लाका जनता उनलाई सधैं सम्झिरहने बताए।

बिदाइ समारोहमा एसपी खड्काले बारामा काम गर्न पाउनु आफ्नो जीवनको सम्झनालायक समय भएको बताए। उनले बारामा काम गर्न असहज हुने भन्ने धारणा गलत रहेको उल्लेख गर्दै जिल्लावासी, नागरिक समाज, राजनीतिक दल, पत्रकार, अधिकारकर्मी, र सबै सहयोगीलाई धन्यवाद व्यक्त गरे।

कार्यक्रममा गोपाल सेवा समिति कलैया, नेपाल पूर्व प्रहरी संघ, ब्राइटल्याण्ड स्कुल, कलैया उपमहानगरपालिका वडा नं. १८, नेपाल लेखापढी कानून व्यवसायी संघ, सामुदायिक प्रहरी सेवा केन्द्र, ब्रह्मकुमारी राजयोग सेवा केन्द्र, महिला सञ्जाल बारा, र अन्य विभिन्न संघ-संस्थाले संयुक्त रूपमा खड्कालाई सम्मान गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय