काठमाडौं । सवारी साधनको स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१ वटा मोटरसाइकललाई काठमाडौं उपत्यका ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सञ्चालन गरेको विशेष अभियानका क्रममा नियमविपरीत साइलेन्सर तथा अन्य संरचनामा परिवर्तन गरी ध्वनि प्रदूषण फैलाउने मोटरसाइकल नियन्त्रणमा लिइएको हो।

नियन्त्रणमा लिइएका मोटरसाइकललाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ अनुसार कारबाही गरिने कार्यालयले जनाएको छ। कारबाहीका क्रममा मोटरसाइकललाई कम्पनीले निर्धारण गरेको मूल स्वरूपमा फर्काउन लगाइने र आवश्यक प्रक्रिया पूरा भएपछि मात्र सम्बन्धित धनीलाई फिर्ता दिइने गरिएको छ।

सवारी साधनको स्वरूप परिवर्तन गरी अत्यधिक आवाज निकाल्दा ध्वनि प्रदूषण हुनुका साथै सर्वसाधारणको स्वास्थ्य र दैनिक जनजीवनमा समेत नकारात्मक असर पर्ने ट्राफिक प्रहरीको भनाइ छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेको निर्देशनमा सञ्चालन भइरहेको उक्त अभियानलाई निरन्तरता दिइने कार्यालयले जनाएको छ।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले सवारी धनी तथा चालकलाई कम्पनीले निर्धारण गरेको मापदण्डअनुसार नै सवारी साधन सञ्चालन गर्न र गैरकानुनी रूपमा स्वरूप परिवर्तन नगर्न आग्रह गरेका छन्।

ट्राफिक प्रहरीले ध्वनि प्रदूषण नियन्त्रण तथा सडक अनुशासन कायम गर्ने उद्देश्यले यस्ता गतिविधिविरुद्ध निगरानी र कारबाहीलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय