मोरङ । मोरङको रंगेली नगरपालिका–४, चोप्राहा बोर्डर क्षेत्रबाट खैरो हेरोइनजस्तो प्रतिबन्धित लागूऔषधसहित एकै परिवारका तीन भारतीय नागरिक पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय रंगेली, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको PIT टोली र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाका आधारमा सोमबार साँझ उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई शंका लागेर चेकजाँच गर्ने क्रममा २९ ग्राम ४८० मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थ बरामद भएको थियो।

पक्राउ पर्नेमा भारतको बिहार प्रान्त, अररिया जिल्ला, थाना बोका मोजदार–२, मुस्लिम टोलका अन्दाजी ४५ वर्षीय रघुनाथ पासवान, उनकी ४० वर्षीया पत्नी सकुन्तला पासवान र १८ वर्षीय छोरा करण पासवान रहेका छन्।

सोमबार साँझ ७ः५० बजे गरिएको चेकजाँचका क्रममा सकुन्तला पासवानले आफ्नो दाहिने हातको मुठ्ठीभित्र कालो प्लास्टिकमा लुकाएर ल्याएको अवस्थामा उक्त पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

बरामद लागूऔषधसहित पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय रंगेलीको हिरासतमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय