
कपिलवस्तु । जिम्मेवारीप्रतिको इमानदारी, कार्यप्रतिको समर्पण र चुनौतीपूर्ण परिस्थितिमा देखाएको सक्रियताका कारण इलाका प्रहरी कार्यालय पिपराकी प्रमुख प्रहरी निरीक्षक कालिका कार्की पुरस्कृत हुनुभएको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मनोहर भट्टले आफ्नो कार्यक्षेत्रमा शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण गर्न तथा प्रहरी जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गरेको मूल्याङ्कन गर्दै प्रहरी निरीक्षक कार्कीलाई पुरस्कृत गर्नुभएको हो।

प्रहरी निरीक्षक कार्कीको कार्यक्षेत्रमा लागुऔषध नियन्त्रण प्रमुख चुनौतीका रूपमा रहेको छ। विशेषगरी युवा पुस्तालाई लागुऔषधको दुर्व्यसनबाट जोगाउने, यसको अवैध कारोबार तथा ओसारपसार नियन्त्रण गर्ने र गैरकानुनी गतिविधिमाथि निगरानी बढाउने कार्यलाई उहाँले प्राथमिकतामा राख्दै आउनुभएको छ।
त्यसैगरी, अवैध भन्सार छली नियन्त्रण, नदीजन्य पदार्थको चोरी निकासी रोकथाम, अपराध अनुसन्धान तथा नियन्त्रण र मातहतका वडा क्षेत्रमा शान्ति सुरक्षा कायम गरी नागरिकलाई सुरक्षाको अनुभूति दिलाउने कार्यमा समेत उहाँ सक्रिय रहँदै आउनुभएको छ।
प्रहरी निरीक्षक कार्कीका अनुसार लागुऔषध नियन्त्रण प्रहरीको एकल प्रयासबाट मात्र सम्भव छैन। यसका लागि स्थानीय नागरिक, अभिभावक र समुदायको सक्रिय सहभागिता तथा सहकार्य आवश्यक छ। समाजलाई लागुऔषधमुक्त बनाउने अभियानमा सबै पक्षको साथ जुटाउँदै आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने उहाँको प्रतिबद्धता छ।
प्रहरी सेवामा उत्कृष्टता पुरस्कार र सम्मानमा मात्र सीमित हुँदैन। नागरिकको विश्वास जित्नु, समाजमा शान्ति सुरक्षा कायम गर्नु र गैरकानुनी गतिविधि नियन्त्रण गर्नु नै प्रहरी कार्यसम्पादनको वास्तविक सफलता हो।
एसपी भट्टद्वारा गरिएको सम्मानले जिम्मेवारीप्रति समर्पित प्रहरी कर्मचारीको योगदानको कदर गर्दै संगठनभित्र सकारात्मक कार्यसंस्कृति र प्रतिस्पर्धात्मक भावना विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।





