
काठमाडौं । दुग्ध विकास संस्था (डीडीसी) अन्तर्गतको विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख नवीन किशोर शर्मा पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले शुक्रबार शर्मालाई ललितपुरको भैँसेपाटीबाट पक्राउ गरेको हो।

सर्लाहीको रामनगर गाउँपालिका–३ घर भई हाल ललितपुर महानगरपालिका–५ भैँसेपाटी बस्दै आएका शर्मालाई आपराधिक विश्वासघात तथा सङ्गठित अपराधको कसुरमा पक्राउ गरिएको सीआईबीले जनाएको छ।
शर्मामाथि डीडीसीलाई १२ करोड १३ लाख ४३ हजार ५३० रुपैयाँ हानि–नोक्सानी पुर्याएको आरोप छ। उक्त कार्यमा मिलेमतो भएको देखिएकाले सङ्गठित अपराधको कसुरमा समेत अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ।





