
सिरहा । मन्दिरमा बोका चढाउने विषयमा भएको विवादपछि कुटपिट गरी हत्या गरेको घटनामा अदालतबाट एक वर्ष कैद सजाय सुनाइएका एक वृद्ध ४३ वर्षपछि पक्राउ परेका छन्।
सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका–५, साविक खरुकियाही गाउँ पञ्चायत–४ का करिब ८० वर्षीय ठकाई यादवलाई पूजारीको भेषमा लुकीछिपी बसिरहेको अवस्थामा बिहीबार स्थानीय शिव मन्दिरबाट प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार इलाका प्रहरी कार्यालय महेशपुरपतारका प्रमुख प्रहरी निरीक्षक विशाल मल्लको कमाण्डमा खटिएको टोलीले यादवलाई पक्राउ गरेको हो। आवश्यक प्रक्रिया पूरा गरी उनलाई सजाय कार्यान्वयनका लागि अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।
मन्दिरमा बोका चढाउने विषयमा विवादपछि हत्या
प्रहरीका अनुसार २०४१ साल वैशाख १ गते नयाँ वर्षको अवसरमा गाउँको राजदेवी मन्दिर परिसरमा मेला लागेको थियो। सोही क्रममा बोका चढाउने विषयमा विवाद उत्पन्न भएपछि घटना भएको थियो।
विवादपछि मौजेलाल यादवको योजनामा भारतबाट समेत पहलवान बोलाई स्थानीय रजिन्द्र यादवलाई घेरा हालेर कुटपिट गरिएको र गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि तत्कालीन खरुकियाही गाउँ पञ्चायत–४ का बालेश्वर यादवको जाहेरीका आधारमा मुख्य योजनाकार मौजेलाल यादव र मतियार ठकाई यादवसहित १२ जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता भएको थियो।
सिरहाका प्रहरी सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालका अनुसार तत्कालीन सगरमाथा अञ्चल अदालतका न्यायाधीश मिनबहादुर रायमाझीको इजलासले २०४६ पुस २५ गते फैसला गर्दै मुख्य योजनाकार मौजेलाल यादवलाई २० वर्ष कैद तथा ठकाई यादवसहित अन्य मतियारलाई एक वर्षसम्म कैद सजाय सुनाएको थियो।
फैसलापछि ठकाई केही समय अन्यत्र लुकेर बसेको र बहुदलीय व्यवस्था पुनःस्थापनापछि गाउँ फर्किएर आफ्ना बाबुले गर्दै आएको मन्दिरको पूजारीको जिम्मेवारी सम्हाल्दै आएको प्रहरीले जनाएको छ।
जग्गा रोक्काबाट खुल्यो ४३ वर्ष पुरानो घटना
अदालतबाट कैद सजायको फैसला भए पनि प्रतिवादीहरू फरार रहेकाले फैसला कार्यान्वयन हुन सकेको थिएन। प्रहरीले पुराना मुद्दाका फरार प्रतिवादीको खोजी गर्ने क्रममा उक्त घटनाको अनुसन्धान तथा फैसला कार्यान्वयनलाई पुनः अघि बढाएको जनाएको छ।
फरार प्रतिवादीमध्ये हेमनारायण चौधरीका भाइ आफ्नो दाजुको कारणले जग्गा रोक्का भएको भन्दै स्थानीय प्रहरीमा पुगेपछि पुरानो मुद्दाका अन्य प्रतिवादीबारे समेत खोजतलास अघि बढाइएको थियो।
पुरानो मुद्दाको फैसला र अभिलेख खोजी गरी विवरण यकिन गर्ने क्रममा ठकाई यादव जीवितै रहेको र गाउँमै पूजारीका रूपमा बस्दै आएको खुलेपछि प्रहरीले उनको खोजी तीव्र बनाएको थियो। अन्ततः उनलाई स्थानीय शिव मन्दिरबाट पक्राउ गरिएको हो।
प्रहरीका अनुसार उक्त घटनामा मुख्य योजनाकार मौजेलाल यादवसहित अन्य ११ जना प्रतिवादीको कैद सजाय कार्यान्वयन हुन सकेको थिएन। ठकाईबाहेक सबै प्रतिवादीको कालगतिले मृत्यु भइसकेको प्रहरीले जनाएको छ।
उक्त मुद्दाको अन्तिम फैसला गर्ने न्यायाधीश मिनबहादुर रायमाझी पछि सर्वोच्च अदालतको १९औँ प्रधानन्यायाधीश बनेर सेवा निवृत्त भइसकेका छन्। पुरानो फैसला सम्बन्धी कागजात खोजी तथा अध्ययन गरी अदालतको निर्णय यकिन गरेपछि ठकाईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पुराना फरार अभियुक्त पक्राउमा मल्लको सक्रियता
इलाका प्रहरी कार्यालय महेशपुरपतारका प्रमुख प्रहरी निरीक्षक विशाल मल्लको नेतृत्वमा पछिल्लो समय पुराना तथा फैसला कार्यान्वयन हुन बाँकी मुद्दाका फरार अभियुक्तको खोजीलाई प्राथमिकता दिइएको छ।
मल्ललाई प्रहरी संगठनमा अपराध अनुसन्धानमा रुचि र दक्षता भएका अधिकृतका रूपमा चिनिन्छ। उनको नेतृत्वमा पुराना मुद्दाका अभिलेख अध्ययन, अदालतका फैसला तथा प्रहरी रेकर्डको मिलान गर्दै फरार अभियुक्तको खोजीलाई अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ।
ठकाई यादवको ४३ वर्षपछि भएको पक्राउ पनि पुरानो मुद्दाको अभिलेख अध्ययन र निरन्तर खोजतलासको परिणामका रूपमा हेरिएको छ।
१८ वर्षपछि अर्का फरार अभियुक्त पनि पक्राउ
महेशपुरपतार प्रहरीले यसअघि १ साउनमा १८ वर्ष पुरानो कर्तव्य ज्यानसम्बन्धी मुद्दाका फरार अभियुक्तलाई पनि पक्राउ गरेको थियो।
बरियारपट्टि गाउँपालिका–५, जिझौलका करिब ६० वर्षीय रामनाथ रायलाई प्रहरी निरीक्षक मल्लको कमाण्डमा खटिएको टोलीले आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको थियो।
प्रहरीका अनुसार २०६५ भदौ ३ गते बिहान करिब ९ बजे बौधा रायकी करिब २५ वर्षीया श्रीमती चन्द्रिकादेवी रायलाई बौधा राय, नातामा मामा पर्ने रामनाथ राय र अर्का एक व्यक्तिले कुटपिट गर्नुका साथै धारिलो हतियार प्रहार गरेका थिए।
गम्भीर घाइते भएकी चन्द्रिकादेवीको उपचारका क्रममा १६ दिनपछि मृत्यु भएको थियो। घटनापछि रामनाथ राय फरार रहँदै आएका थिए।
१८ वर्षपछि आफ्नै घरबाट पक्राउ परेका रायमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
महेशपुरपतार प्रहरीले पुराना तथा फैसला कार्यान्वयन हुन बाँकी कर्तव्य ज्यानलगायत गम्भीर अपराधका मुद्दामा फरार रहेका अभियुक्तहरूको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिने जनाएको छ।




