
काठमाडौँ। प्रविधिको विकासले मानिसको दैनिकी जति सहज बनाएको छ, त्यसको दुरुपयोगले समाजमा उति नै नयाँ र जटिल अपराधहरू जन्माइरहेको छ। हातहातमा पुगेको इन्टरनेट र सामाजिक सञ्जालको पहुँचसँगै नेपालमा साइबर अपराधको ग्राफ डरलाग्दो गरी उकालो लागेको छ।
नुवाकोटका ३४ वर्षीय सुरेन्द्रप्रसाद खनाललाई नै हेरौँ। इमेलमार्फत अश्लील सन्देश पठाएर एक महिलाको चरित्र हत्या गरेको आरोपमा उनी गत असार २६ गते पक्राउ परे। त्यस्तै, फेसबुक ह्याक गरी अरूको नाममा ठगी गर्ने नुवाकोटकै १९ वर्षीय विवेक सुनार असार २४ मा र ‘म इसेवाको कर्मचारी हुँ’ भन्दै सर्वसाधारणलाई झुक्याएर खाता रित्ताउने रौतहटका २२ वर्षीय शुभम साह असार २ मा समातिए।
सुरेन्द्र, विवेक र शुभम त केवल प्रविधिलाई हतियार बनाएर आपराधिक बाटो रोज्ने प्रतिनिधि पात्र मात्र हुन्। सामाजिक सञ्जालको दुरुपयोग गरी ब्ल्याकमेल गर्ने, अनलाइन स्क्यामिङ गर्ने र सफ्टवेयरको सोर्स कोडमै अनधिकृत पहुँच पुर्याउने जस्ता ‘हाइटेक’ अपराधका घटना दिनहुँ बढिरहेका छन्।
एकै वर्षमा साढे २० हजार उजुरी: फेसबुक र टिकटकबाटै धेरै जोखिम
नेपाल प्रहरीको साइबर ब्यूरोको तथ्यांकले डिजिटल असुरक्षाको भयावह चित्र प्रस्तुत गर्छ। आर्थिक वर्ष २०८२/८३ मा मात्रै प्रहरीमा साइबर अपराधसम्बन्धी २० हजार ५२६ वटा उजुरी दर्ता भएका छन्। यो संख्या अघिल्ला वर्षहरूको तुलनामा बढ्दो क्रममा छ। आव २०८०/८१ मा १९ हजार ७३० र २०८१/८२ मा १८ हजार ९२६ उजुरी परेका थिए।
पछिल्लो एक वर्षमा दर्ता भएका उजुरीको प्रकृति हेर्दा सबैभन्दा धेरै दुरुपयोग फेसबुक र म्यासेन्जर (७,१२३ उजुरी) को भएको छ। त्यसपछि टिकटक (६,७७६), ह्वाट्सएप (३,१०५), र टेलिग्राम (१,०३१) रहेका छन्। यसबाहेक बैंकिङ तथा वालेट (इसेवा, खल्ती, एसएमएस) मार्फत हुने ठगीका ७४४ र संस्थागत ८४६ उजुरी परेका छन्।
प्रहरीले यस अवधिमा १६१ वटा गम्भीर प्रकृतिका मुद्दा दर्ता गर्दै १५५ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याएको छ।
ठगीका नयाँ–नयाँ हतकण्डा
अपराधीहरूले आम मानिसको कमजोरी र प्रविधिको अनभिज्ञतालाई आफ्नो हतियार बनाइरहेका छन्। साइबर ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) दिलीपकुमार गिरीका अनुसार ठगीको शैली दिनप्रतिदिन फेरिँदो छ।
“पछिल्लो समय विशेष गरी बैंक तथा वालेट कार्यालयको कर्मचारी बोलेको भन्दै विश्वासमा पारेर खाताको पहुँच (OTP) माग्ने र रकम उडाउने गिरोह सक्रिय छ,” प्रवक्ता गिरी भन्छन्, “यसबाहेक विदेशबाट बहुमूल्य गिफ्ट, लोट्री वा पार्सल आएको भन्दै भन्सार छुटाउने बहानामा ठग्ने शैली पनि व्यापक छ।”
त्यसैगरी, सामाजिक सञ्जालमै प्रेम जालमा पारेर (रोमान्स स्क्याम), वैदेशिक रोजगारीको प्रलोभन देखाएर, तथा टेलिग्राम र इन्स्टाग्राममा ‘अनलाइन जब’ र ‘अनलाइन सपिङ’को आकर्षक अफर दिएर ठग्ने प्रवृत्ति निकै बढेको ब्यूरोले जनाएको छ।
चुनौतीपूर्ण बन्दै अनुसन्धान
अदृश्य रूपमा हुने यस्ता अपराधको अनुसन्धान परम्परागत अपराधभन्दा निकै जटिल हुन्छ। यही नयाँ चुनौतीको सामना गर्न र प्रविधिजन्य अपराध रोकथाम गर्न सरकारले २०७५ जेठ २७ गते ‘साइबर ब्यूरो’ को स्थापना गरेको थियो।
ब्युरोले हाल विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत रहेर साइबर अपराधीहरूमाथि कारबाही अगाडि बढाइरहेको छ। यद्यपि, प्रहरीको सक्रियताले मात्र यो जालो तोड्न सम्भव छैन; प्रविधिको प्रयोगमा सर्वसाधारण आफैँ पनि सचेत र जिम्मेवार हुनुपर्ने आवश्यकता झनै बढेर गएको छ।




