सिरहा । सशस्त्र प्रहरी बलको गस्ती टोलीले सिरहाको सीमावर्ती औरही गाउँपालिका–४, खजनपुरबाट करिब ५० किलो प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुमनजंग थापाका अनुसार शुक्रबार बिहान करिब ३ः१५ बजे मोटरसाइकलमा लोड गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा ४९ किलो ७६० ग्राम गाँजा बरामद गरिएको हो।

गाँजा लोड गरिएको भारतीय नम्बर प्लेट बीआर ३२ एम ३०५७ को मोटरसाइकलका चालक भने सशस्त्र प्रहरीको गस्ती टोलीलाई देखेपछि फरार भएका थिए। मोटरसाइकल र गाँजा नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

२३ दिनमा साढे आठ क्विन्टलभन्दा बढी गाँजा बरामद

सिरहामा पछिल्लो २३ दिनको अवधिमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले विभिन्न स्थानबाट ८ क्विन्टल ४६ किलो ७१५ ग्राम गाँजा बरामद गरेका छन्। यस क्रममा एक भारतीय नागरिकसहित चार जना पक्राउ परेका छन्।

प्रहरीका अनुसार २२ साउन बिहान इलाका प्रहरी कार्यालय लहान र महेशबारीबाट खटिएको संयुक्त गस्ती टोलीले सखुवानन्कारकट्टी गाउँपालिका–४ बाट ९१ किलो २५ ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको थियो।

त्यसको अघिल्लो दिन सोही क्षेत्रबाट इलाका प्रहरी कार्यालय महेशबारीको गस्ती टोलीले बोरामा प्याक गरिएको ५३ किलो ४६५ ग्राम गाँजा जस्तो देखिने पदार्थ बरामद गरेको थियो।

यसअघि ६ साउन मा प्रहरीले लहान नगरपालिका–३, नयाँ बस्तीस्थित स्थानीय श्यामकुमारी साहको घर कम्पाउन्डमा पार्किङ गरी राखिएको फलफूल लोड भएको पिकअप भ्यानबाट ६५२ किलो गाँजा जस्तो देखिने पदार्थ बरामद गरेको थियो।

बा.२१ च ५८६६ नम्बरको उक्त भ्यानको पछाडितर्फ नासपाती राखिएका प्लास्टिकका क्रेटभित्र ३१ वटा बोरा तथा दुईवटा प्लास्टिकमा लुकाएर राखिएको अवस्थामा उक्त पदार्थ बरामद भएको थियो। घटनामा एक भारतीय नागरिकसहित तीन जना पक्राउ परेका थिए।

पछिल्ला घटनाले सिरहाको सीमावर्ती क्षेत्रमा गाँजाको भारततर्फ हुने अवैध ओसारपसार बढिरहेको देखाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय