
कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिका–३ बनपुरुवाबाट प्रहरीले ३१ ग्राम १० मिलिग्राम खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी झिलमिलाबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा उनीहरूलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गरेको थियो।

पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका–२ का २६ वर्षीय रोसन सार्की र सोही स्थानका ३० वर्षीय ठग्णु राम डगौरा रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट ३१ ग्राम १० मिलिग्राम खैरो हेरोइन तथा म.१ प.९३०१ नम्बरको मोटरसाइकल बरामद गरेको जनाएको छ।
दुवै जनालाई नियन्त्रणमा लिएर लागूऔषधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले जानकारी दिएका छन्।




