काठमाडौं । थाइल्यान्डबाट नेपाल हुँदै भारततर्फ लैजान लागिएको १८ किलोग्राम लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरको कार्यालयबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएको प्रहरी टोलीले थाइल्यान्डको बैंककबाट काठमाडौं आएको क्याथे प्यासिफिकको उडानबाट आएका यात्रुको प्रोफाइलिङ गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार भारत पञ्जाबका ३६ वर्षीय सञ्जीव कुमार र २६ वर्षीय रवि कुमारले लगेजमा लुकाएर ल्याएको गाँजा विमानस्थलको भन्सार क्षेत्रमा छाडेर भाग्न खोजेको अवस्थामा पक्राउ गरिएको हो। उनीहरूलाई १८ किलोग्राम गाँजासहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले थाइल्यान्डबाट गाँजा ल्याउने भारतीय नागरिकहरूले विमानस्थलबाट पक्राउ पर्नबाट बच्न भन्सार क्षेत्रमा लगेज छाडेर जाने र केही दिनपछि नेपाली एजेन्टमार्फत क्लेम गरी लैजाने योजना बनाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ।

पक्राउ परेकाहरूको साथबाट दुई थान पासपोर्ट, दुई थान मोबाइल र चार थान झोला समेत बरामद भएको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान तथा संलग्न व्यक्तिहरूको खोजी अघि बढाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय