काठमाडौँ । अवैध रूपमा सट्टेबाजी गराई दुई करोड ७३ लाख रुपैयाँभन्दा बढीको कारोबार गरेको आरोपमा प्रहरीले काठमाडौँबाट एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बुढानीलकण्ठ नगरपालिका–१२ बस्ने ४१ वर्षीय प्रेम थापा रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले उनलाई काठमाडौँ महानगरपालिका–११, भद्रकालीबाट शुक्रबार अपराह्न करिब साढे ५ बजे पक्राउ गरेको हो।

प्रहरीका अनुसार थापाको साथबाट चार थान मोबाइल फोन र एक थान ल्यापटप बरामद गरिएको छ। बरामद विद्युतीय उपकरणको प्रारम्भिक परीक्षणका क्रममा वान एक्स बेट, वान एक्स बेट पार्टनर्स तथा मोब–क्यास एप्लिकेसनमार्फत ठूलो रकमको कारोबार भएको खुलेको प्रहरीले जनाएको छ।

प्रहरीले ती माध्यमबाट दुई करोड ७३ लाख ४३ हजार १७२ रुपैयाँभन्दा बढीको कारोबार भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको जनाएको छ।

प्रहरीका अनुसार थापा अवैध सट्टेबाजीसँग सम्बन्धित गतिविधिमा संलग्न रहेको आशंका गरिएको छ। बरामद विद्युतीय उपकरण तथा कारोबारसम्बन्धी विवरणका आधारमा प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

पक्राउ परेका थापामाथि अनुसन्धान अघि बढाउन प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएको जनाएको छ। घटनामा अन्य व्यक्तिको संलग्नता तथा कारोबारको थप विवरणबारे समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय