काठमाडौं । लागूऔषध नियन्त्रण ब्यूरोले पक्राउबाट बच्न कुकुर र सीसीटीभीमार्फत निगरानी गर्दै लागूऔषध कारोबार गर्दै आएका एक व्यक्तिलाई ठूलो परिमाणको खैरो हेरोइनसहित पक्राउ गरेको छ।

ब्यूरोका अनुसार ललितपुर महानगरपालिका–१, कुपण्डोलबाट लागूऔषध मुद्दामा कैद भुक्तान गरी छुटेका प्रज्वल केसीलाई ११० ग्राम ३५० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको हो।

लागूऔषध मुद्दामा पक्राउ परी कारागारबाट छुटेपछि पुनः कारोबारमा संलग्न हुन सक्ने व्यक्तिहरूको ‘प्रोफाइलिङ’ गर्ने क्रममा ब्यूरोबाट खटिएको प्रहरी टोलीले उनलाई शनिबार पक्राउ गरेको हो।

प्रहरीले केसीको साथबाट खैरो हेरोइनसँगै लागूऔषध तौल गर्न प्रयोग हुने डिजिटल तराजु एक थान र फरक–फरक सिम प्रयोग गरिएका पाँच थान मोबाइलसमेत बरामद गरेको छ।

पक्राउबाट बच्न घरमै सुरक्षा घेरा

अनुसन्धानका क्रममा केसीले लागूऔषध कारोबार गर्दा पक्राउबाट बच्न तथा ग्राहकको पहिचान गर्न कुपण्डोलस्थित घरमा विशेष सुरक्षा व्यवस्था गरेको खुलेको ब्यूरोले जनाएको छ।

उनले घरमा चार वटा सीसीटीभी क्यामेरा र दुई वटा कुकुर राख्नुका साथै लागूऔषध कारोबार गर्ने बेडरुमसम्म पुग्ने बाटोमा तीन वटा फलामे गेट समेत राखेको पाइएको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार ग्राहक तथा बाहिरी व्यक्तिको गतिविधि निगरानी गर्न सीसीटीभी र कुकुर प्रयोग गर्ने तथा सुरक्षित स्थानबाट मात्रै कारोबार गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

यसअघि पनि लागूऔषध मुद्दामा जेल

प्रज्वल केसी यसअघि पनि लागूऔषध खैरो हेरोइनसहित पक्राउ परी कारागारमा सजाय भुक्तान गरिसकेका व्यक्ति रहेको ब्यूरोले जनाएको छ।

उनी २०७९ जेठ २७ गते २ ग्राम खैरो हेरोइनसहित प्रहरी परिसर ललितपुरबाट पक्राउ परेका थिए। त्यसपछि २०७९ भदौ २ गतेदेखि २०८० असार १ गतेसम्म नख्खु कारागारमा रहेका केसीलाई पछि भीमफेदी कारागारमा स्थानान्तरण गरिएको थियो।

उनले २०८२ चैत १९ गते कारागारबाट छुटेको प्रहरीले जनाएको छ।

कारागारमा रहँदा नै कारागारभित्र रहेका एक साथीमार्फत सम्पर्क भएका विराटनगरमा बसेर लागूऔषध सप्लाई गर्ने व्यक्तिसँग लागूऔषध खरिद गर्दै आएको समेत अनुसन्धानबाट खुलेको ब्यूरोको भनाइ छ।

पक्राउ परेका केसीमाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय