काठमाडौं । लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वरले प्रविधिको प्रयोग गर्दै InDrive मार्फत लागूऔषध (ब्राउन हेरोइन) ओसारपसार तथा बिक्री–वितरण गर्ने गिरोहका तीन जनालाई पक्राउ गरेको छ।

ब्युरोका अनुसार भुनिएको बोराभित्र लागूऔषध लुकाई सर्वसाधारण बस चढेर काठमाडौं ल्याउने र त्यसपछि मोटरसाइकलमार्फत निगरानी गर्दै InDrive प्रयोग गरी ग्राहकसम्म लागूऔषध पुर्‍याउने गरेको सूचनाका आधारमा अनुसन्धान अघि बढाइएको थियो।

अनुसन्धानका क्रममा लागूऔषध माग गर्ने व्यक्तिलाई InDrive मार्फत रकम पठाउन लगाई रकम प्राप्त भएपछि अर्को InDrive बुक गरेर लागूऔषध डेलिभरी गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ।

सोही क्रममा गत साउन १४ गते काठमाडौंको गोंगबु मित्रनगर क्षेत्रमा ब्राउन हेरोइन बिक्री–वितरण गर्न आएका तीन जनालाई पक्राउ गरिएको हो। पक्राउ परेकामध्ये ओखलढुंगाको लिखु गाउँपालिका–७ का २८ वर्षीय हितबहादुर बस्नेत, सप्तरीको राजगढ गाउँपालिका–७ का १९ वर्षीय रामकृष्ण शर्मा तथा धुनचे (जम्कनन्दिनी गाउँपालिका–३) का २१ वर्षीय धनञ्जय पायवान रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट ४३ ग्राम ब्राउन हेरोइन, दुई थान डिजिटल तराजु, ११ थान मोबाइल फोन र नगद ५० हजार रुपैयाँ बरामद गरेको जनाएको छ।

ब्युरोका अनुसार पक्राउ परेका हितबहादुर बस्नेतले स्कुल बस चालकको काम गर्दै आएका थिए भने धनञ्जय पायवान आईटी इन्जिनियरिङ अध्ययनरत रहेका छन्।

प्रारम्भिक अनुसन्धानबाट लागूऔषध खरिदकर्ता र विक्रेताबीच पाँच पटकसम्म कारोबार हुँदा पनि उनीहरू प्रत्यक्ष रूपमा आमनेसामने नभएको खुलेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको लागूऔषध नियन्त्रण ब्युरोले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय