
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले काठमाडौं महानगरपालिका–१ नक्सालस्थित एक घरबाट ३२९.०५ ग्राम हेरोइनजस्तो देखिने पदार्थसहित चार जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार साउन २८ गते अपराह्न ५ बजे लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त मालीगाउँबाट खटिएको टोलीले प्रभात तिवारीको घरको कोठा तथा बा ७ च ५१८० नम्बरको सवारी साधनमा खानतलासी गरेको थियो।

खानतलासीका क्रममा ३२९.०५ ग्राम हेरोइनजस्तो देखिने पदार्थ, २२९ क्याप्सुल ट्रामाडोल, १०० ट्याब्लेट नाइट्राजेपाम तथा नगद रु. १ लाख ९८ हजार ३२५ बरामद गरिएको प्रहरीले जनाएको छ। साथै ३ थान ल्यापटप, १ थान तराजु, १ थान सञ्चार सेट, १ थान एल्युमिनियम पेपर रोल, ४ थान मोबाइल फोन र ४ वटा फेटा (पारी) समेत नियन्त्रणमा लिइएको छ।
यस प्रकरणमा पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१ निवासी ४३ वर्षीय प्रभात तिवारी, ललितपुर महानगरपालिका–४ निवासी ५१ वर्षीय रोशन श्रेष्ठ, काठमाडौं महानगरपालिका–१४ बल्खु निवासी ५१ वर्षीय भूपेन्द्र श्रेष्ठ तथा हाल काठमाडौं महानगरपालिका–१२ बस्दै आएका सर्लाही बरहथवा नगरपालिका–६ का ४० वर्षीय सुजन रायमाझी रहेका छन्।
पक्राउ परेकामाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।




